पिपल्स च्वाइसमा भलिबलका हिमाल सुनारीसहित पाँच जना मनोनयनमा–हेर्नुस को–को ?

पोखरा स्पोर्ट्स । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् ।

आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उनीहरुको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको हो । स्पोर्ट्स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ ।

मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन् । उनले भनिन्– अवार्डमा मनोनित हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरुले मलाई माया गर्नुहुनेछ ।’

यसैगरी विजयले उसु खेल अन्य खेल जस्तै लोकप्रिय नभएपनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले भने– स्पोर्ट्स अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थेँ कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना पूरा भएको छ ।’

आइतबार पत्रकार सम्मेलनमा पुजा, इभाना र हिमाल उपस्थित हुन सकेनन् । पूजा क्रिकेट प्रशिक्षणको क्रममा भारतमा छिन् । यसैगरी इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् ।

पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीेमा प्राप्त मतका आधारमा हुनेछ ।

५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ । यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कूल दस विधामा अवार्ड प्रदान गरिने छ ।

जसमा पिपल्स च्वाइसलगायत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । पल्सर स्पोर्टस् अवार्ड २०८१ भदौ २९ गते पोखरामा हुँदैछ ।

पिपल्स च्वाइस २०८१ को मनोनयन पर्ने खेलाडीहरुको उपलब्धिः
विजय सिन्जाली (उसु)
– जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जित्न सफल खेलाडी ।
–साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कांस्य जित्न सफल ।
–चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्न सफल । त्यसैका आधारमा थाउलु विश्वकपमा स्थान बनाउन सफल ।
–एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडी ।
– विगतमा १३ औं सागमा स्वर्ण र १२ औं सागमा रजत जित्न सफल खेलाडी ।

इभाना थापा (टेबलटेनिस)
– दक्षिण एसियाली टेबलटेनिसमा चार पदक
– एकलमा तेस्रो, गल्र्स डबल्समा दोस्रो, गल्र्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो हुँदै पदक जित्न सफल
– २७औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल खेलाडी ।
–ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल
–एसियन युथ च्याम्पियनसिप उज्वेकिस्तानमा सहभागी
– दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यु–१९ गल्र्स स्वर्ण)
– पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ।

हिमाल सुनारी(भलिबल)
– नवौं एनभिएल लिगमा २०८२ ः उपविजेता टोलीका महत्वपूर्ण सदस्य
– पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य ।
– तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्वपूर्ण । प्रतियोगिताका बेस्ट सर्भर ।
– नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय खेलाडी । सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडी ।

पूजा महतो (क्रिकेट)
–आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटकम च्याम्पियन भएर यु–१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान ।
–पहिलोपल्ट विश्वकप खेलेका नेपाली टोलीका लागि छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन दिन सफल खेलाडी ।
– शतक बनाउन सफल महिला खेलाडी । नेपालले कुवेतलाई १६५ रनको हराउँदा पूजाले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाउन सफल ।
– प्रतियोगितामा सर्वाधिक रन २७२ बनाएर शीर्ष र बलिङमा १० विकेट लिएर दोस्रो स्थानमा रहने सफल खेलाडी ।
–एसिसी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी । नेपाली महिलाले आइसिसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको त्यो पहिलोपल्ट थियो ।
– सिनियर राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन ।

रेखा पौडेल (फुटबल)
– एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी ।
– युएईको अबुधाबी कन्ट्री क्लबमा आबद्ध भई डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल गर्न सफल ।
– वैकल्पिक खेलाडीका रूपमा खेल्दै रेखा साउदी अरेबियाको अल नासरविरुद्धको १–० को जितमा निर्णायक गोल गर्न सफल । जित हात पार्दै अबुधाबी कन्ट्री क्लब अर्को पुग्दा रेखाको मुख्य भुमिका ।
– साफ महिला च्याम्पियनसिप २०२४ मा ७ गोलसहित सर्वाधिक गोलकर्ता बन्न सफल खेलाडी । माल्दिभ्सविरुद्ध एक्लैले ५ गोल, श्रीलंकाविरुद्ध २ गोल ।
– साफमा ह्याट्रिक गर्ने दोस्रो महिला खेलाडी ।

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close