
पोखरा स्पोर्ट्स । तनहुँ कप पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता कार्तिकको तेस्रो साता तनहुँको सदरमुकाम दमौलीमा हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा उक्त प्रतियोगिता कार्तिक १८ देखि २२ गते सम्म हुने भएको हो । प्रतियोगिता आयोजनाका लागि नेपाल भलिबल संघले स्विकृती प्रदान गरेको नेपाल संघका पूर्व सचिब डिबी नेपालीले जानकारी दिए । उनले भने–“मैले भर्खरै सो बारे नेपाल भलिबल संघबाट जानकारी पाएको छु । यो तनहुँका भलिबल प्रेमीहरुका लागि खुसीको समाचार हो ।”
प्रतियोगिताको तयारी बारे जानकारी दिंदै तनहुँ जिल्ला खेलकुदका अध्यक्ष अनिल पाण्डेले केही महिना यति प्रतियोगिताको तयारी भैरहेको र नेपाल भलिबल संघको स्विकृती प्राप्तीका लागि पर्खिएको बताए । “अब पर्खाइको समय सकिएको छ । नेपाल भलिबल संघले मितिसहितको स्विकृती दिएको छ,” अध्यक्ष पाण्डेले भने, “अब तनहुँलाई भलिबलमय बनाउने गरी प्रतियोगितालाई अघि बढाउने छौं ।”
“तनहुँ पहिलो मुख्यमन्त्री भलिबल प्रतियोगिताको समेत विजेता हो”, अध्यक्ष पाण्डेले भने–“लामो समय देखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन सकेको थिएन । भलिबलको उर्वर भूमी तनहुँका दर्शकहरुले आफ्नै सदरमुकाममा राष्ट्रिय खेलाडीहरुको खेल हेर्ने अवसर पाउनेछन् ।”
प्रतियोगिता सम्पन्न गर्न करिव ५० लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता टोलीले नगद रु ५ लाख उपबिजेताले नगद रु ३ लाख र तेस्रो हुने टिमले नगद रु १ लाख ५० हजार, तथा चौथो हुने टिमले सान्त्वना स्वरुप ७५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब संगै सातै प्रदेशको सहभागिता हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न प्रदेश खेलकुद परिषद गण्डकीसहित उद्योगी एवं व्यवसायीहरुलाई आग्रह गरिएको अध्यक्ष पाण्डेले पोखरा स्पोर्ट्सलाई बताए । उनले भने–“हाम्रो खर्च करिव ५० लाख हो । हामीले बचत भएको रकम भलिबल खेलको विकास र खेलाडी उत्पादनमा खर्च गर्ने सोच बनाएका छौं ।”
