अक्षयकोष पछि खेल मैदानको खोजीमा म्याग्दी भलिबल

केशव पाठक/पोखरा स्पोर्टस । म्याग्दीको भलिबल इतिहास लामो छ । उति बेला लाहुरेहरुले जन्म घर फर्किदा आफ्नो साथमा ल्याएको बल र बारीको कान्लाबाट सुरु भएको भलिबलले यति बेला राष्ट्रिय खेलकुदको स्वरुप पाइसकेको छ । नेपाली खेलकुदको गौरवको रुपमा स्थापित अरुणा शाही मात्रै नभई दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने म्याग्दी यति बेला फेरी चर्चामा छ । त्यो हो अक्षयकोष स्थापना ।

२० महिना भयो म्याग्दी भलिबलको नेतृत्व सम्हालेका छन् तेजेन्द्र बाँनियाले । एक यूवाले सम्हालेको खेलकुद संघको स्वरुप कस्तो हुनुपर्छ भन्ने सन्देशलाई आज उनले स्थापित गरेका छन् । भौगोलिक अवस्थाले कठिन म्याग्दी जिल्लालाई भलिबल खेलको नयाँ स्वरुपमा ढाल्न प्रयासरत छन् बाँनिया यति बेला । “म्याग्दी जिल्ला नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा जन्मिएको थलो मात्रै होइन । म्याग्दीले कमला पुन, मिलन मल्ल, राजु शेरचन, झमनसिंह परियार र पछिल्लो पुस्तामा सुजन चोखाल जस्ता उत्पादन गर्ने उर्वर भूमी हो” उनी भन्छन–“अब पुराना खेलाडीहरु मात्रै हेरेर रमाउने होइन हामी उनीहरु जस्तै यूवा खेलाडीहरु उत्पादन गर्नुपर्छ भन्ने अभियानमा छौं । जसका लागि अक्षयकोष हाम्रो लागि सञ्जिवनीको कार्य गर्ने छ ।

आफूले बाल्यकाल देखि भलिबलमा नजिकिंदै म्याग्दी भलिबलको नेतृत्व सम्हालेका बाँनिया करिव ४६ लाख ५१ हजारको अक्षयकोषको स्थापना गर्न उनीसहितको टिम सफल भएको छ । ७७ जिल्लामा फैलिएको नेपाली भलिबल म्याग्दीमा भने आफ्नो खुट्टामा उभ्याउनका लागि अक्षयकोषको परिकल्पना गर्नु खेलकुद इतिहासमा नै एक महत्वपूर्ण पक्ष हो । जसलाई म्याग्दी भलिबलले आफूलाई प्रमाणित गरेको छ । अक्षयकोषको स्थापनाका लागि म्याग्देलीहरुको प्रवाशी नेपाली संस्था ‘मोना यूके’को महत्वपूर्ण सहयोग छ भने केही स्थानिय समाजसेवी र संघको कार्यसमितिले समेत रकम संकलन गरेका छन् ।

म्याग्दीको भलिबलको योजना बारे सुनाउँदै बाँनिया भन्छन्–“हामीले अक्षयकोषको स्थापना गरेका छौं । अब हामीलाई खेल मैदानको आवश्यक्ता छ ।” आफ्नै नाममा भलिबल खेल मैदान निर्माणको योजनामा बुनेका म्याग्देली भलिबलको यो महत्वकाँक्षी योजना समेत हो । जिल्ला भलिबल संघ यति बेला जग्गाको खोजीमा छ । जहाँ स्वतन्त्र रुपमा आफ्नै खेल सञ्चालन, प्रशिक्षण गर्न सकियोस । अक्षयकोषको रकमको ब्याजबाट खेलाडी उत्पादन गर्ने मुल लक्ष्य बनाएको संघले अब मैदानको अभावलाई पुरा गर्ने उद्धेश्य पुरा हुने विश्वास व्यक्त गर्छन बाँनिया ।

“हरेकलाई सकारात्मक सोच तर्फ अघि बढाउन र दृढ मनोबलका साथ अघि बढ्ने हो भने पक्कै पनि सफलता प्राप्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु” अध्यक्ष बाँनिया भन्छन्–“त्यही सोचका साथ अक्षयकोष स्थापना भएको हो भने भलिबल मैदान निर्माणको योजना समेत पुरा हुनेमा म विश्वास राख्छु ।” दिर्घकालिन सोचका साथ आएको भिजनका कारण सबैको साथ र सहयोग पाउने विश्वास आफूमा रहेको बताउँदै उनले सुशासन, पारदर्शिता र सक्षम नेतृत्वका कारण सबैको विश्वास दिलाउन आफ्नो टिम हरतरहले प्रयासरत रहने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close