प्रदेश खेलकुद गण्डकीको निर्णय-केही केन्द्रिय खेल संघका पदाधिकारीलाई मान्यता नदिने

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश खेलकुद परिषद्ले हालै सम्पन्न केही केन्द्रिय खेल संघका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेशभित्र मान्यता नदिने निर्णय गरेको छ ।

शुक्रबार पोखरामा परिषदले प्रदेश खेल संघहरुसँग सम्पन्न गरेको बैठकमा यो निर्णय एकमतले पारित भएको हो । सदस्य–सचिव श्रीधर शर्माका अनुसार, काठमाडौंमा सम्पन्न केही खेल संघका केन्द्रिय साधारण सभा तथा अधिवेशनमा गण्डकीका आधिकारिक खेल संघलाई सहभागी नगराई पदाधिकारी निर्वाचित गरिएका कारण यस्तो कदम चालिएको हो ।

शर्माले भने, “प्रदेशमा वैधानिक मान्यता प्राप्त खेल संघहरुलाई कुनै जानकारी नदिई केन्द्रिय सभा र अधिवेशन गर्नु गम्भीर विषय हो । यसले केवल गण्डकी मात्र होइन, सम्पूर्ण नेपाली खेलकुदका लागि चिन्ता उत्पन्न गरेको छ ।”

बैठकले नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल पौडी संघ, नेपाल बास्केटबल संघलगायतका केन्द्रिय संघका पदाधिकारीलाई प्रदेशभित्र मान्यता नदिने निर्णय गरेको छ । साथै, ती संघहरुले गण्डकी प्रदेशमा सञ्चालन गर्ने कुनै पनि कार्यक्रमलाई पनि मान्यता नदिने जनाएको छ ।

शर्माका अनुसार, गण्डकी प्रदेश खेलकुद परिषद् अन्तर्गतका सबै खेल संघहरु ऐनअनुसार गठन भई परिषदमा आबद्ध छन् । त्यसैले प्रदेशको अधिकार र संरचनालाई बेवास्ता गर्ने गतिविधि सह्य नहुने परिषद्को भनाइ छ ।

“यो सोझै संघियताको मर्म विपरित कार्य हो”, सदस्य सचिब शर्माले भने–“प्रदेश खेल संघलाई मान्यता नदिनु भनेको प्रदेश सरकारलाई मान्यता नदिनु सरह नै हो । संघियताको मर्म विपरित भएको यो कार्यमा हामी कठोर छौं । प्रदेश खेलसंघहरु समेत यो विषयमा गम्भिर बनेका छन् ।”

स्मरणिय के छ भने यस्तो निर्णय गर्ने सात प्रदेशका परिषद मध्ये प्रदेश खेलकुद परिषद गण्डकी सम्भवतः पहिलो खेलकुद परिषद समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close