
पोखरा स्पोर्टस । विद्यालय तहमा खेलकुद गतिविधि सन्चालन गर्नका लागि नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याव्सन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विद्यालय खेलकुद र शैक्षिक कार्यक्रम मार्फत विद्यार्थीहरूलाई विश्वव्यापी खेलकुद गतिविधिहरूमा अवसरहरू सिर्जना गर्नका लागि दुवै पक्षले काम गर्ने समझदारी भएको विद्यालय खेलकुद महासंघका अध्यक्ष बिनोद श्रेष्ठले बताएका छन् ।
समझदारीपत्र अनुसार अबदेखि विद्यालय खेलकुद महासंघ र प्याव्सनले संयुक्त रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालय खेलकुद कार्यक्रमहरू आयोजना गर्ने, प्रशिक्षक विकास, खेल सामाग्री सहयोग, छात्रछात्राहरुको सहभागिता सुनिश्चित गर्ने, तथा ISF (International School Sport Federation) का कार्यक्रमहरुमा समन्वय गरी प्रतिनिधित्व गर्ने जस्ता कार्यहरूमा सहकार्य गर्नेछन ।
समझदारीपत्रमा विद्यालय खेलकुद महासंघका अध्यक्ष श्रेष्ठ र प्याव्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका खेल विज्ञान विभाग प्रमुख पशुपति अधिकारी लगायत महासंघ तथा प्याव्सनका पदाधिकारीहरुको उपस्थिति थियो ।
विद्यालय खेलकुद महासंघका अध्यक्ष श्रेष्ठले नेपालको विद्यालय स्तरको खेलकुद विकासमा यो सझदारी कोसेढुंगा सावित हुन बताएका छन् ।
त्यसैगरी, प्याव्सनका अध्यक्ष अधिकारीले यो सहकार्यले निजी विद्यालयहरुमा शिक्षा सँग सँगै खेलकुदलाई अझ प्राथमिकता दिने जनाए ।
