खेलकुद पत्रकार थापाको ‘खेलाडी:संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन

पोखरा स्पोर्ट्स । खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको बताउँदै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुका साथै महत्वपूर्ण दस्तावेजका रुपमा पनि रहने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रुपमा संग्रहित हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरु धेरै पुस्तक लेखनका लागि पनि प्रेरणा दिने बताए । उनले खेलाडीका संघर्ष र सफलताका कथाहरु लगातार लेखिनुपर्नेमा जोड दिए ।

यसैगरी नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले खेलाडीले गरेको संघर्ष, भोगेका दुःख कष्ट र चुनौती तथा उनीहरुको साहसिक सफलताका कथाहरुलाई एउटा सिंगो पुस्तकका रुपमा सिंगारेकोमा थापालाई बधाइ दिँदै नेपाली खेलकुदमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको दस्तावेजीकरणको अभावलाई केही हदसम्म भए पनि पूर्ती गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीका दुःख, पीडा, संघर्ष र सफलताका कथालाई पत्रकारले निरन्तर रुपमा प्रकाशित गर्दै आएको उल्लेख गर्दै त्यसलाई पुस्तकका रुपमा दस्तावेजीकरण गर्नु महत्वपूर्ण भएको बताए ।

ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले खेलाडीका विषयमा पनि पुस्तक प्रकाशनको अभियान सुरु भएको बताउँदै यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पुस्तकका लेखक विष्णु थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए ।

पत्रकारिताको यात्रा थालेको पुनर्जागरण साप्ताहिकदेखि विभिन्न साप्ताहिक, मासिक, पाक्षिक र दैनिक पत्रिकामा लेखिएका सामग्रीलाई पुस्तकका रुपमा आकार दिएको बताउँदै पत्रकार थापाले नेपाललाई पहिलो पदक दिलाउन सफल एउटा सिंगो इतिहासका साक्षी जितबहादुर केसीदेखि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेसा गोवर्द्धनसम्मको संघर्ष, सफलता र उतारचढावको विषयबस्तुलाई समेटिएको बताए ।

‘अग्रजदेखि युवा पुस्तासम्मका त्याग, समर्पण, संघर्ष र सफलता समेटिएको कथालाई पत्रिकाको पानामा मात्रै सीमित राख्नु हुँदैन, त्यो सामाग्री नेपाली खेलकुदको ऐतिहासिक दस्तावेज बन्न सक्छ’ भन्ने तथ्यलाई हृदयगंम गरी एउटा पुस्तकको रुप दिइएको उनको भनाई थियो ।

पुस्तक भावी पुस्ताका लागि एउटा दस्तावेज मात्रै बन्ने मात्र नभई नयाँ र खेलकुदमा केही गर्ने भावना बोकेकाहरुलाई खेलकुदमा लाग्न अभिप्रेरित पनि गर्ने विश्वास लिएको बताउँदै उनले भने, ‘अब खेलाडीका कथाहरु लेख्ने मात्रै होइन, तिनलाई पुस्तकका रुपमा संग्रहित पनि गर्नु पर्दछ ।’ थापा विगत दुई दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् ।

नेपाल माला मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र संग्रहित छन् । पुस्तक २६० पृष्ठको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close