
पोखरा स्पोर्ट्स । नेपालकै प्रतिष्ठित खेलकुद सम्मान कार्यक्रममध्ये एक, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई पोखरामा भव्य बनाउन पोखरेली पर्यटन व्यवसायीहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
पोखरा भ्रमण वर्ष २०२५ आयोजक समितिको पहलमा बुधबार पोखरामा भएको छलफल कार्यक्रममा उनीहरुले प्रतिवद्धता संगै आफूहरु उत्साहित भएको जनाएका हुन् । नेपाल खेलकुद पत्रकारहरुको छाता संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने २२ औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यहि भदौ २९ गते हुँदैछ । सोही सन्दर्भलाई जोड्दै अवार्ड कार्यक्रम सफल बनाउन मञ्चले पोखराका एक दर्जन बढि विभिन्न पर्यटन व्यवसायीहरुका संस्थाका पदाधिकारीहरु संग छलफल आयोजना गरेको थियो ।
छलफलका क्रममा पोखरेली पर्यटन व्यवसायीहरुले खेलकुद र पर्यटन एक अर्काको प्रयाय भएको जनाउँदै नेपालकै प्रतिष्ठित कार्यक्रम स्पोर्टस अवार्ड पोखरामा हुनु सबैको लागि गौरवको विषय रहेको जनाए । उनीहरुले सामुहिक रूपमा भनेका छन्–“पोखरालाई प्राथमिकतामा राख्दै आयोजना हुने अवार्डले पोखरा भ्रमण वर्ष सफल बनाउन मात्रै नभई पोखरालाई खेलकुदको हवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिन भूमिका खेल्नेछ ।”
खेलकुद पर्यटनका लागि समेत उत्तिकै महत्व राख्ने जनाउँदै पर्यटन व्यवसायीहरु सहकार्य गर्न तयार रहेको जनाउँदै पहिलो पटक राजधानी बाहिर पोखरामा आयोजना हुने लागेको अवार्ड कार्यक्रम सामुहिक रुपमा सफल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
छलफल कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईले खेलकुदले नै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचार प्रसारमा समेत सहयोग पुग्ने भएकोले दिगो पर्यटन व्यवसायका लागि यस प्रकारका कार्यक्रमहरुले थप सहयोग पुग्ने बताए । उनले भने–“भ्रमण वर्षकै क्रममा अवार्ड कार्यक्रम हुँदैछ । नेपाली खेलकुद जगतकै महत्वपूर्ण कार्यक्रम भएकाले पोखरेली पर्यटन व्यवसायी संगै यहाँका सबै स्टेकहोल्डरहरु भव्य बनाउन सकरात्मक छौं ।”
कार्यक्रममा मञ्चका अध्यक्ष निरन्जन अधिकारीले २२ औं सस्करणको अवार्ड कार्यक्रम फरक हुने बताउँदै पर्यटन व्यवसायीहरुले गरेको प्रतिवद्धताका लागि आभार व्यक्त गरे । उनले सबैको सहकार्य र सहभागिताले नै अवार्ड कार्यक्रम सफल हुने बताउँदै पर्यटन व्यवसायी संगै पोखरेलीहरुको साथ र सहयोग महत्वपूर्ण हुने उल्लेख गरे । उनले भने–“यो मञ्चको वा नेपाली खेलकुद पत्रकारहरुको मात्रै कार्यक्रम होइन । हामी यहाँहरुको सहयोग पाउँछौ भन्ने दृढ मनशायका साथ पोखरामा आयोजना गर्दैछौं । म सम्पूर्ण पोखरेलीहरुलाई यहाँहरुमार्फत अवार्ड सफल बनाउन आह्वान गर्दछु ।”
मञ्चका निवर्तमान अध्यक्ष देवेन्द्र सुवेदीले अवार्ड कार्यक्रम बारे जानकारी दिंदै कार्यक्रममा २ सय भन्दा बढि पाहुनाहरु पोखरा आउने बताए । उनले अवार्ड कार्यक्रमलाई जोडेर विभिन्न कार्यक्रम एवं अन्तक्रिया कार्यक्रमहरु आयोजना गर्ने तयारी भइरहेको बताउँदै अवार्डले पोखरालाई सहाशिक खेलकुद संगै पोखरा खेलकुदको शहर हो भन्ने कुरा अझै बलियो गरी स्थापित गर्न सहयोग पुग्नेमा आफू आशावादी रहेको बताए ।
सो अवसरमा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पाहारी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल हवाई खेलकुद संघका अध्यक्ष अनिल केसीलगायतले आफ्ना भनाई राखेका थिए ।
