
पोखरा स्पोर्टस । बेलायतमा रहेका नेपालीहरुको समुह ‘फ्रेण्डस फर एभर ग्रुप’ले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख ८० हजार रुपैया सहयोग गरेको छ ।

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने मुल मन्त्रका साथ स्थापित फ्रेण्डस फर एभर ग्रुपका सदस्य हाल हङकङमा रही पोखरा ११ निवासी गोल गुरुङको संयोजकत्वमा संकलित उक्त रकम ग्रुपका सदस्य बिरकाजी गुरुङले रंगशाला निर्माणका संयोजक तथा धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’लाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
वेलायतमा रहेपनि आफ्नो मातृभुमिमा आइपरेको विभिन्न विपत्तिहरुमा सहयोग गर्दै आइरहेको फ्रेण्डस फर एभर ग्रुपले निरन्तर झरीका बावजुद पनि क्रिकेट रंगशाला निर्माणस्थल चितवमा पुगी सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै ग्रुपका सदस्य बिरकाजी गुरुङले धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो मातृभुमिमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण थालेको र उक्त अभियानमा आफुहरुले पनि केही सहयोग गर्ने उद्देश्य अनुरुप ग्रुपका सदस्य गोल गुरुङको संयोजकत्वमा ग्रुपमा आवद्ध सदस्यहरुबाट संकलित रकम आज हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको वताए ।
यस अघि पनि नेपालका विभिन्न प्राकृतिक विपत्तिमा परेकाहरुलाई आफुहरुको ग्रुपले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने समेत वताए । सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल धुर्मुसले विदेशमा रहेरपनि आफ्नो मातृभुमि प्रति देखाएको सदासयता प्रति आभार प्रकट गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट नै आफुहरुको उद्देश्य पुरा हुने वताए ।
