एभरेष्ट महिला भलिबल लिग : महिला सशक्तिकरण संगै १ सय भन्दा बढीलाई रोजगार !

पोखरा स्पोर्ट्स । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) नेपाली खेलकुदमा महिला सशक्तिकरण र रोजगारी प्रवर्द्धनको बलियो आधारका रूपमा स्थापित हुँदैछ।

इन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा पहिलो सस्करणबाट नै चर्चा कमाउँदै अब दोस्रो संस्करणको तयारीमा रहेको छ । “एभरेष्ट भलिबल लिग प्रतियोगिताका लागि प्रतियोगिता मात्रै नभई नेपाली खेल क्षेत्रमा महिला सहभागिता संगै १ सय भन्दा बढिलाई रोजगार दिन सक्षम कार्यक्रम हो,” भन्छिन् इभिडव्लुएलकी कार्यकारी प्रमुख सेन्भी चापागाई–“यो हाम्रो उत्कृष्ट व्यवस्थापनको नमुना हो । नेपालमा मात्रै नभई महिला मैत्री खेलका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसले चर्चा पाएको छ ।”

EWVL को पहिलो संस्करणमा ७२ जना महिला खेलाडी, १५ जना व्यवस्थापन क्षेत्रका महिला, १० जना मिडिया र ५ जना प्राविधिक क्षेत्रमा महिलाहरू संलग्न गरिएका थिए । सन् २०२५ को दोस्रो संस्करणमा यो संख्यालाई थप बढाउने तयारी भइरहेको चापागाईंले बताइन् । 

लिगमार्फत चापागाईं आफैं नेपालकै पहिलो र सबैभन्दा कम उमेरकी महिला स्पोर्ट्स लिगको कार्यकारी प्रमुख बनेकी हुन् । त्यस्तै, सुभेक्षा  खड्का नेपालको खेल इतिहासमै पहिलो महिला अक्सनियर बन्न सफल भइन् । उनले १८ जुलाईमा EWVL ले आयोजना गरेको पहिलो महिला भलिबल अक्सनको संचालन गरेर आफ्नो पहिचान स्थापित गरेकी छिन् ।

EWVL ले परम्परागत पुरुषप्रधान खेल व्यवस्थापनको संरचनालाई चुनौती दिँदै महिला नेतृत्व, प्राविधिक, प्रसारण, डिजिटल मिडिया, लजिस्टिक र टिम अपरेसन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी बनाउँदै आएको छ । “हाम्रो नारा अब पालो महिलाकोले लिगको सार्थक उद्देश्य झल्काउँछ,-” चापागाईं भन्छिन्, “खेलकुद क्षेत्रमा महिला उपस्थिति अभावकै बीच EWVL ले समावेशीता र समान अवसरको मार्ग खोलिरहेको छ ।”

नेपालको खेलकुद परिदृश्यमा उल्लेखनीय परिवर्तन ल्याउँदै EWVL अहिले महिला–मैत्री खेल नवप्रवर्तनको अन्तर्राष्ट्रिय नमुनाका रूपमा स्थापित हुँदैछ । यसको प्रभाव विस्तार हुँदै गएसँगै नेपाल तथा दक्षिण एसियाका हजारौँ युवतीका लागि खेलकुदमा समान अवसर र उज्ज्वल भविष्यको ढोका खोल्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close