
पोखरा स्पोर्ट्स । नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रीट प्रिमियर लिग (एनसपिएल) मा सहभागी हुने टिमका लागि दर्ता प्रक्रिया सुरु भएको छ ।
डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि इच्छुक कम्पनीहरूले अनलाइन वा इमेलमार्फत दर्ता फारम प्राप्त गर्न सक्ने गरी आयोजकले दर्ता आह्वान गरेको हो ।
आयोजकका अनुसार टिमको छनोट प्रक्रिया ब्रिडिङ सिस्टम अर्थात विशेष मूल्यांकन विधिमार्फत हुनेछ ।
प्रत्येक टिमको दर्ता शुल्क रु ५० हजार तोकिएको छ, जुन फिर्ता नहुने व्यवस्था गरिएको छ । दर्ता मिति २०८२ साउन १ गतेदेखि १५ गतेसम्म (जुलाई १७–३१) कायम रहनेछ ।
दर्ताका लागि कम्पनी नेपालमा विधिवत रूपमा दर्ता भएको हुनुपर्ने, कर तिरेको प्रमाणपत्र पेश गर्नुपर्ने तथा स्पष्ट रेकर्ड भएको हुनुपर्ने शर्त राखिएको छ ।
साथै, कुनै अन्तर्राष्ट्रिय कम्पनीले फ्रेन्चाइज प्राप्त गर्न चाहेको खण्डमा नेपाली कम्पनीसँग संयुक्त लगानी गर्नुपर्ने पनि जनाइएको छ ।
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि इच्छुक संस्थाहरूले आयोजकसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने एनसपिएलले जनाएको छ ।
डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट प्रतियोगिता हो ।
