बागमती प्रदेश खेलकुद परिषद्को टोली पोखरामा, गण्डकीसँग अनुभव आदान–प्रदान

पोखरा स्पोर्ट्स  । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाको नेतृत्वमा पोखरा आएको टोलीले प्रदेश खेलकुद परिषद गण्डकीसँग अनुभव आदान–प्रदान गरेको छ । प्रदेशस्तरमा खेलकुद विकास, नीतिको कार्यान्वयन, पूर्वाधार सुदृढीकरण र समन्वयका विविध पक्षमा केन्द्रित उक्त अन्तर्क्रियात्मक कार्यक्रम पोखरा रंगशालास्थित परिषद्को सभाकक्षमा सम्पन्न भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले टोलीलाई स्वागत गर्दै गण्डकीमा भइरहेको गतिविधि, रणनीति तथा सामना गरिएका चुनौतीहरूको विवरण प्रस्तुत गरे । उनले यस्ता अनुभव आदान–प्रदान कार्यक्रमहरूले प्रदेशस्तरीय खेलकुद संरचना सुदृढ गर्दै समग्र विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव  लामाले गण्डकी प्रदेशको खेल पूर्वाधार, संरचना, प्रशिक्षण प्रणाली र प्रतियोगिता व्यवस्थापनको प्रशंसा गर्दै यस्तो प्रकारको अन्तर्क्रियाले प्रदेशस्तरमा भएको सिकाइ प्रत्यक्ष अवलोकन गरी नयाँ दिशा तय गर्न सहयोग पुग्ने धारणा राखे। उनले भने, “प्रदेशस्तरको खेल नीति कार्यान्वयन र पूर्वाधार विकासका लागि अनुभव आदान–प्रदान अपरिहार्य छ।”

सदस्य सचिव लामाले प्रदेश खेलकुदको सुदृढीकरणका लागि अधिकारको न्यायपूर्ण वितरण, स्पष्ट मार्गचित्र निर्माण तथा संस्थागत सहकार्य अनिवार्य भएको उल्लेख गर्दै नीतिगत समस्याहरूको समाधानका लागि सम्वाद र समन्वयको खाँचो औँल्याए ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न खेल संघ प्रतिनिधिहरूले आफ्ना सफल अभ्यास, अनुभव र चुनौतीबारे बागमती टोलीसँग विचार साटासाट गरेका थिए । छलफलमा दुबै प्रदेशबीच आगामी दिनमा आपसी सहकार्यलाई थप संस्थागत गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख प्रकाश अधिकारी, गण्डकी प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, बागमती प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख सूर्यबहादुर दहाललगायतको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा खेलकुद बजेटको प्रभावकारी प्रयोग, संघसंस्थासँग समन्वय, प्रशिक्षक विकास, अन्तरप्रदेशीय प्रतियोगिता तथा सहकार्यका विषयमा विशेष छलफल गरिएको थियो। टोलीले पोखरास्थित रंगशालाको अवलोकन समेत गरेको थियो ।

गण्डकी प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख भुसालले यस्तो प्रकारको भेटघाट तथा अन्तर्क्रियाले प्रदेशस्तरीय समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close