
पोखरा स्पोर्टस । गण्डकी कप महिला राष्ट्रिय बास्केटबलमा बाग्मती प्रदेश च्याम्पियन भएको छ ।
गण्डकी प्रदेश बास्केटबल संघद्वारा पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा पहिलो पटक आयोजित सो प्रतियोगितामा घरेलु टोली गण्डकीलाई पराजित गर्दै बाग्मती च्याम्पियन बनेको हो ।
फाइनल खेलमा तीन राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको बाग्मतीले पहिलो क्वार्टरबाट हावी हुँदै ५५–३४ ले पराजित गरी च्याम्पियन बन्न सफल भयो ।
यद्यपी लिगको दोस्रो खेलमा भने बाग्मती गण्डकी संग २४–१७ ले पराजित भएको थियो । लिगमा पराजयको सामना गरेको बाग्मतीले फाइनलमा भने गण्डकीलाई पराजित गरी लिगमा आफ्नो हारको बदला मात्रै लिएन च्याम्पियन समेत बनेको छ ।
च्याम्पियन भए संगै बाग्मतीले नगद रु ७५ हजार, सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्दा उपविजेता गण्डकीले नगद रु ५० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ‘मष्ट भेलुएबल प्लेयर’ बाग्मतीकी मिना गुरूङ घोषित भइन् । उनले ट्रफी र प्रमाणपत्र हात पारिन् ।
त्यस्तै प्रतियोगिताका दुई सेमीफाइनालिष्ट टिम कर्णाली र कोशी प्रदेशले जनही नगद रु १०–१० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, संघका सल्लाहकार एवं नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, सल्लाहकार नारायण प्रसाद शर्मा, सुनिल गुरूङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि कार्यक्रममा आफ्ना भनाई राख्दै सांसद बरालले खेलकुद क्षेत्रमा सोचे अनुरुप बजेट विनियोजना नभएको बताउँदै चिन्ता व्यक्त गरे । उनले यस प्रकारका प्रतियोगिताले खेलाडीहरुमा अन्तर्निहित क्षमताको विकासमा समेत भूमिका खेल्ने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब शर्माले खेलकुदमा अझै पनि केन्द्रियता हावी भइरहेको बताउँदै दशौं राष्ट्रिय खेलकुदको अनिश्चितता तोड्न पनि प्रदेश खेलकुदले केही राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गरेको उल्लेख गरे ।
समापन कार्यक्रम गण्डकी बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङको अध्यक्षतामा भएको थियो । उनले सहभागि टिमहरुलाई आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस प्रकारका प्रतियोगिताहरुको निरन्तरता हुने जनाए ।
तीनदिन सम्म सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा सम्पन्न भएको हो ।


