
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । हरेक वर्ष जुन २३ तारिखका दिन विश्वभर मनाइने ओलम्पिक डेलाई नेपालमा पनि विशेष कार्यक्रममार्फत उत्सवको रूपमा मनाइएको हो ।

कार्यक्रमको सुरुआत स्वयम्भू स्तुपास्थित हारती माताको दक्षिणतर्फबाट गरिएको विशाल र्यालीबाट भएको थियो । कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले र्यालीको उद्घाटन गरेका थिए । र्याली डल्लुस्थित कभर्ड हल पुगेर टुंगिएको थियो। यसै क्रममा साइक्लिङ र्यालीसमेत आयोजना गरिएको थियो ।
डल्लु कभर्ड हलमा आयोजित विशेष समारोहमा कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे २०२५ का संयोजक अशोक वज्राचार्यले नेपाली राष्ट्रिय झण्डा फहराएका थिए भने कमिटी अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा फहराए ।
कमिटीका महासचिव राजीव श्रेष्ठले ओलम्पिक डे एक मिति मात्र नभई स्वस्थ जीवनशैली र सक्रियता प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय अभियान भएको उल्लेख गरे । ‘यो यस्तो आन्दोलन हो, जसले हामीलाई खेलकुदमा संलग्न हुन, स्वस्थ र सक्रिय जीवन बिताउन र शारीरिक गतिविधिमा प्रेरित गर्छ’–उनले भने।
अध्यक्ष श्रेष्ठले ओलम्पिकको भावना समाजका हरेक तहमा फैलनुपर्ने आवश्यकता औंल्याउँदै भने, “ओलम्पिक डे मनाउने मुख्य उद्देश्य स्वस्थ शरीर र शान्ति प्रवर्द्धन हो । यसले हामीलाई एकता, भाइचारा र शान्तिको सन्देश दिन्छ । त्यसैले यो दिवसको ठूलो महत्व छ।”
कार्यक्रममा कराँते, उसु, जोडो, बी–बोइङ तथा ग्यालेक्सी स्कुलका विद्यार्थीहरूको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । साथै, ओलम्पिक डेमा सहभागी सबै व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
ओलम्पिक कमिटी, त्यसअन्तर्गतका संघसंस्था तथा खेलसँग सम्बन्धित विभिन्न संस्थाहरूको सहकार्यमा कार्यक्रम सफल रूपमा सम्पन्न भएको थियो ।
