
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशले गण्डकी प्रदेश खेलकुद परिषदको रिक्त सदस्य सचिव पद नियुक्ती प्रक्रिया रोक्न दबाब दिएको छ ।
गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउँदै महासंघले मंगलबार नियुक्ती प्रक्रिया रोक्न दबाब दिएको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुन सहितको टोलीले यूवा तथा खेलकुद मन्त्रालय मार्फत गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघले मन्त्रालयका सचिब बद्रिनाथ अधिकारीलाई उक्त ज्ञापन पत्र बुझाउँदै सक्रमणकालिन अवस्थामा सरकारलाई नियुक्ती प्रक्रिया अविलम्व रोक्न समेत दबाब दिएको छ । सरकारले चोरबाटोबाट ल्याएको नियुक्ती प्रक्रियाले समग्र खेलकुदको विकास अवरुद्ध गर्ने संगै खेलाडीहरुको हित समेत गर्न नसक्ने महासंघले ठहर गरेको छ ।
नियुक्ती प्रक्रियाको लागि प्रकाशित सूचनामा म्याद समेत घटाएर एक साताको मात्रै राखिएको तथा क्षमतावान योग्य नेपाली नागरिकले दरखास्त आह्वान गर्न पाउनु पर्ने स्पष्ट रुपमा गण्डकी प्रदेश खेलकुद विकास ऐनमा उल्लेख भए पनि जारी सूचनामा गण्डकी प्रदेशको मात्रै उल्लेख गरिएको र ऐनमा उल्लेखित विषयको समेत धज्जी उडाएको भन्दै महासंघले आपत्ती समेत प्रकट गरेको छ ।
यस अघि महासंघले सोमबार मात्रै एक विज्ञप्ती प्रकाशित गरी नियुक्ती प्रक्रिया रोक्न दवाव दिएको थियो ।
स्मरणिय के छ भने प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवको पद गत कार्तिक २४ गते देखि रिक्त रहेको छ । यस अघि सदस्य सचिव रहेका तेज बहादुर गुरुङको उमेर हदका कारण उक्त पद रिक्त रहेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको सूचना

