राइनो संरक्षण गोल्डकप : गण्डकी सेमीफाइनलमा

पोखरा स्पोर्टस । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा गण्डकी प्रदेशको फुटबल टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।

काठमाण्डौको ‘ए’ डिभिजनको क्लब मछिन्द्रलाई हराउँदै गण्डकी प्रदेश छैटौँ राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताको शुक्रबार भएको क्वार्टरफाइनलमा गण्डकी प्रदेशले मछिन्द्रलाई १–० ले निराश पार्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको टिम म्यानेजर बिनोद गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

गण्डकीको जितमा मुकुन्द निउरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ३१औँ मिनेटमा मछिन्द्र विरुद्ध गोल गरेका थिए ।

मछिन्द्रले मध्यान्तरपछिको खेलमा सुधार गरे पनि गोल फर्काउन भने सकेन । मध्यान्तर पछि पाएको पेनाल्टी समेत गोलमा परिणत नहुँदा मछिन्द्र निराश बनेको थियो । बिमल घर्ती मगरले प्रहार गरेको पेनाल्टी लाई गण्डकीका किपर आकाश रानाभाटले सेभ गरे । खेलमा आकाश म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैयाँ हात पारे ।

गण्डकीले सेमीफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत भोलिको क्वार्टरफाइनल अठ्ठाईस विगाहा कावासोती र सङ्कटा क्लब काठमाडौँ बीच हुनेछ ।

बन्यजन्तु संरक्षण चेतनाका लागि खेलकुद भन्ने मुल उद्धेश्यका साथ आयोजित उक्त प्रतियोगितामा विभागिय टोलीहरुसहित नेपालका ए डिभिजनका क्लबहरुको सहभागिता रहेको छ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close