सूर्य नेपाल प्रिमियर गल्फ : दोस्रो दिन एमेच्योर राहुल र प्रो सुबाश शीर्षस्थानमा

पोखरा स्पोर्टस । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुबाश तामाङ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।

समग्रमा १०-अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे। राहुलले आज ७-अन्डर ६५ को सानदार प्रदर्शन गरे। सुबाशले ६-अन्डर ६६ को स्कोर दर्ज गरे । 

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर निकाले। समग्रमा ८-अन्डर १ सय ३६ सहित उनी तेस्रो स्थानमा उक्लिए ।

समग्रमा ७-अन्डर १ सय ३७ का साथ निरज तामाङ चौथो स्थानमा छन्। उनले आज ५-अन्डर ६७ मा खेल सकाए । समग्रमा ६-अन्डर १ सय ३८ स्कोरकासाथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौं स्थानमा रहे । उनले आज ३-अन्डर ६९ को स्कोर जोडे। एमेच्योर वाङ्चेन ढोन्डुप ४-अन्डर ६८ स्कोर सहित समग्रमा ५-अन्डर १ सय ३९ सहित छैटौं स्थानमा उक्लिए ।

यस्तै समग्रमा ३-अन्डर १ सय ४१ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्तरुपमा सातौं स्थानमा रहे। दिनेशले ३-अन्डर ६९ र भुवनले इभन-पार ७२ मा खेल सकाए। कृष्णमान राजबाहक र पहिलो दिनका लिडर रबि खड्का समग्रमा २-अन्डर १ सय ४२ को स्कोरमा संयुक्तरुपमा नबौं स्थानमा छन्। कृष्णमानले ३-अन्डर ६९ र रबिले ३-ओभर ७५ को स्कोरमा दोस्रो दिनको खेल सकाए ।

राहुलले आज फ्रन्ट नाइन बोगीरहित खेले। पहिलो, दोस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै पहिलो नौ होलको खेल ४-अन्डर ३२ खेले । यसपछि उनले ११औं होलमा एक सट खेर फाले । तर १०औं, १२औं १७औं‌ र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए ।

सुबाशले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३-अन्डर ३३ खेले।‌ उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक-एक सट खेर फाले। यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १०औं देखि १२औं होलमा लगातार तीन बर्डी खेल्दा बाँकी छ होलमा पार बचाए ।

सदभावले फ्रन्ट नाइनमा ७-अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे। बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो तथा छैटौ देखि नवौं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। यसपछि ११औं र १२औं होलमा पनि एक-एक सट बचाए। तर चार पारको १८औं होलमा एक सट खेर फाले। ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

३६ होलको समाप्तीमा ६-ओभर १ सय ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन्। सञ्जय लामा, धन बहादुर थापा, शुक्र बहादुर राई, दीपक मगर, विष्णु प्रसाद शर्मा, तोरण विक्रम शाही, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, रामे मगर, रमेश अधिकारी, टंक बहादुर कार्की, राम कृष्ण श्रेष्ठ, वसन्त राज गुरूङ, शिवराम पौडेल र बल भद्र राईले कट बनाए। यस्तै एमेच्योर गल्फर टासी छिरिङ र पदम हाङ लिम्बु पनि कट बनाउन सफल रहे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार  र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।

चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ। जहाँ  २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close