एपिएफले जित्यो प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

पोखरा स्पोर्टस । शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।

त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।

लिग चरणको पहिलो खेलमा पुलिसले एपिएफलाई जितेको थियो भने पुलिसले नवौं एनभिए कप करिब दुई साता अघि पोखरामा भएको प्रतियोगिताको विजेता टिम हो । एपिएफले पुलिससंग बदला लिदै उपाधि चुम्यो ।

प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा एपिएफकी निरुता ठगुन्ना घोषित भइन् ।

त्यसै गरी प्रतियोगिताको उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट सर्भरमा एपिएफकी सृष्टि खड्की, उत्कृष्ट ब्लकरमा न्यु डाइमण्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा भने एपिएफका पुष्पजंग मल्ल घोषित भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सेटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको अध्यक्ष कोइरालाले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ६ टिम सहभागिता रहेको थियो ।

विजयी खेलाडीहरुलाई नेकपा माओबादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री शक्ति बहादुर बस्नेत, राखेप वोर्ड सदस्य प्रकाश कुमार कुसारी, गण्डकी प्रदेशका पूर्व मन्त्री रेशम जुग्जाली, नेशनल स्पोर्टस एकेडेमीका अध्यक्ष दिपक कोइराला, उपाध्यक्ष शिव कोइराला (ज्वाला), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close