यस्तो बन्दैछ मुलपानी क्रिकेट रंगशाला, डिपीआर प्रस्तुत

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) प्रस्तुत गरेको छ ।

राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो ।

स्मरणिय के छ भने मुलपानी क्रिकेट रंगशालाको विषयमा एक वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रकृयामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरुको प्रतिक्रिया दिएका थिए ।

सोही कार्यक्रममा कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रंगशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्य–सचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने अगाडि बढ्न निर्देशन दिएका थिए । मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ ।

सदस्य–सचिव घिसिङले सो निर्देशनको तत्काल कार्यन्वयन गर्ने क्रममा पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई डिपीआर तयार गर्ने जिम्मेवारी दिएका थिए ।

डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम १ साताभित्र सम्पन्न गर्न सदस्य–सचिव घिसिङले पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन् ।

डिपीआर प्रस्तुतीका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्नु हुँदै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताए ।

राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितीमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो।

डिजाइन अनुसार हालको तल्लो मुलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ। जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ। यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ। उनीहरूका अनुसार पानी परेको दशदेखि बाह्र मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ। डिजाइनमा तल्लो र माथील्लो मुलपानी मैदान दुवै रहेका छन। स्टेडियममा तीन तल्लाको अन्डर ग्राउन्ड पार्किङ, पुरूष र महिलाको लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थल लगायतका संरचना रहेका छन। हालको माथील्लो मुलपानी ग्राउन्ड प्रशिक्षण मैदानको रूपमा रहनेछ ।

खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मुलपानी क्रिकेट मैदानको आज प्रस्तुत गरिएको डिजाइन अनुसारको सुविधा सम्पन्न अत्याधुनिक स्टेडियम निर्माणको लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान गरिएको छ।

गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषदले निर्माणको लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो। सोही अनुरूप कलेजले आज डिजाइन प्रस्तुत गरेको हो ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले यो वर्ष नै यो मैदानको लागि ५० करोडदेखि १ अर्ब सम्मको बजेट निकाशा हुने संभावना रहेको बताए। उनले स्टेडियमको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए। यो डिजाइनमा अझै काम गर्न पनि उनले निर्देशन दिएका छन् ।

सदस्य सचिव टंकलाल घिसिङले यो प्रोजेक्टलाई मेगा प्रोजेक्टको रूपमा अगाडि बढाएको भन्दै आगामी बजेटमा यही प्रोजेक्टलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिए। गत कात्तिक २३ गते सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close