मदन भण्डारी स्पोर्टस एकेडेमीले लुम्बिनीमा आयोजना गर्ने राष्ट्रिय भेला संगै हाफ म्याराथन अन्तिम चरणमा

पोखरा स्पोर्टस । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्टस एकेडेमीले लुम्बिनीमा यहि चैत्र २३ गते दोश्रो राष्ट्रिय भेला संगै हाफ म्याराथन आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

एकेडेमीले शनिबार एक पत्रकार सम्मेलन मार्फत राष्ट्रिय भेला संगै आयोजना गरेको हाफ म्याराथनको तयारी समेत अन्तिम चरणमा पुगेको जनाएको हो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले विश्वको शान्तीस्थल तथा बुद्ध तपोभुमी लुम्विनीमा भेला संगै हाफ म्याराथनको तयारी सुरु भएको जानकारी दिएका छन् । राष्ट्रिय भेलामा ७७ जिल्ला र देशै भरका पालिकाका प्रतिनिधीहरुको सहभागिता रहने जनाउँदै अध्यक्ष आचार्यले हाल सम्म ७० जिल्लाका प्रतिनिधीहरु लुम्बिनी आउने तय भइसकेको जनाए । “हामीले हरेक जिल्लाबाट ७ जना र पालिकाबाट ५ जना प्रतिनिधिहरुलाई भेलामा बोलाएका छौं । हरेक जिल्लाबाट प्रतिनिधीहरुको नाम आउने क्रम जारी छ”, अध्यक्ष आचार्यले भने ।

राष्ट्रिय भेलाले जिल्ला र पालिकाहरुको कमिटिहरुको घोषणा गर्ने भएकोले पनि यो भेला विशेष रहेको अध्यक्ष आचार्यले जनाएका छन् । “यो भेलाले नेपाली खेलकुदलाई पालिकातह सम्म जोड्न भूमिका खेल्ने छ भन्ने विश्वास लिएका मात्रै छैनौं खेलकुद विकासको गतिलाई अघि बढाउन अहम भूमिका खेल्नेछ,” उनले भने । भेलामा विभिन्न खेल विद्याहरुको डेमोस्ट्रेसन तथा विभिन्न कला संस्कृती झल्कने प्रदर्शनीहरु समेत हुने उनले बताएका छन् ।

लुम्विनी पिस म्याराथनको रुपमा आयोजना हुने खुला महिला तथा पुरुष हाफ म्याराथनको तयारी समेत करिव अन्तिम चरणमा आइपुगेको अध्यक्ष आचार्यले जनाउँदै महिला र पुरुषतर्फ अन्तिम खेलाडी दर्ता चैत्र २० गते सम्मका लागि तय गरिएको बताए । बाहिरी जिल्लाबाट आउने खेलाडीलाई आवाश सहितको सुविधा दिने गरी तय भएको हाफ म्याराथनका लागि आकर्षक पुरस्कार समेत राखिएको छ । पुरस्कारको प्रथम राशी पुरुषको भन्दा महिलाको १ हजारले बढि छ ।

जस अनुसार पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई ७५ हजार, तेश्रो हुनेलाई ५० हजार, चौथोलाई ३० हजार, पाँचौलाई २० हजार, छैटौं १० हजार, सातौंलाई ७ हजार आठौं, नवौं र दशौं सम्मका लागि जनही नगद ५–५ हजार पुरस्कार राशी संगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

त्यसै गरी महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोश्रो हुनेलाई ७५ हजार, तेश्रो हुनेलाई ५० हजार, चौथोलाई ३० हजार, पाँचौलाई २० हजार, छैटौं १० हजार, सातौंलाई ७ हजार आठौं, नवौं र दशौं सम्मका लागि जनही नगद ५–५ हजार पुरस्कार राशी संगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ । 

“शान्ती र समृद्धिका लागि खेलकुद” भन्ने मुल नाराका साथ लुम्बिनी अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा आयोजना हुने राष्ट्रिय भेलालाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने तय भएको एकेडेमीका उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । भेलालाई उपप्रधान तथा पूर्व अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेलले समेत सम्वोधन गर्ने कार्यक्रम रहेको एकेडेमीले जनाएको छ ।

“चैत्र २३ गते शान्तीका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस पनि हो” उपमहासचिव श्रेष्ठले भनिन–“हामी यो दिवसलाई अझै खेलकुदको उत्सवको रुपमा मनाउँदै मात्रै छैनौं राष्ष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा एक सन्देश समेत दिन चाहन्छौं ।” 

विसं २०६६ सालमा स्थापना भएको अदन भण्डारी स्पोर्टस एकेडेमीले विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने संगै विभिन्न अन्तक्रियात्मक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close