
पोखरा स्पोर्टस । एसियन अन्डर–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
श्रीलंकाको राजधानी कोलम्वोमा यही बैशाख २९ देखि जेष्ठ जेठ १० गते (मे १२–२४, २०२५) सम्म आयोजना हुने प्रतियोगितामा उनीहरु सहभागी हुने भएका हुन । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा ति खेलाडी छनौट भएको संघले जनाएको छ ।
२८ देशका २७० जना खेलाडी सहभागी हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफीसियलहरु बैशाख २७ गते कोलम्वो प्रस्थान गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जानकारी दिए ।
सहभागी खेलाडीहरुमा ५२ केजी तौल समुहमा रोशनी घलान, ६० केजीमा नारिका राई ८१ केजी माथि त्रिशा जबेगु छन् । यस्तै ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंह वीर लिम्बु, र ६० केजीमा छिरिङ वांदी शेर्पा छन् । यस्तै प्रशिक्षकमा सुजितकुमार पुनमगर, रेफ्रीजजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेका छन् ।
कोलोम्बो जाने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सफलताको शुभकामना सहित विदाई गरे ।
