गण्डकीको महिला फुटबल टोलीको घोषणा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुटबल संघले महिला टोलिको घोषणा गरेको छ ।

यहि १३ गतेबाट २० गतेसम्म नुवाकोटमा हुने बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि महिला टिमको छनोट गरेको हो ।

मंगलबार १८ सदस्यीय टोली र ७ जना वैकल्पिक खेलाडीको नाम सार्वजानिक गरेको छ । छनोट हुनेमा स्याङजाबाट भावना परियार, अंशु विश्वकर्मा, दीपिका शाही, शुक्रिया मिया, माया मास्की, नवलपुरबाट मनिषा तामाङ, मुना महतो, सेनु परियार रहेकी छन् । कास्कीबाट विनिशा राई, विपना परियार, गीता श्रेष्ठ, तनहुँबाट पूर्णिमा थापा, पर्वतबाट यमकुमारी विक, गोरखाबाट रविना बराम रहेका छन् ।

त्यसै गरी लम्जुङबाट आयुषा गुरुङ र रेजिना लामा तथा म्याग्दीबाट दिपा मगर छनोटमा परेका छन् । यस्तै वैकल्पिक खेलाडीमा गोर्खाकी रिमा गुरुङ, वागलुङकी सुमिना केसी, कास्कीका सरिता रोकाया, प्रिया लामा, पर्वतकी गंगा गुरुङ रहेकी छन् ।

गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले गण्डकीको महिला फुटबलको विकास गर्ने उदेश्यका साथ महिला टोलीको निर्माण गरेको सुनाए । ‘हामीले प्रतियोगिताको आयोजना यस अघि नगरेपनि प्रशिक्षक र रेफ्री कोर्षहरु प्रदान गर्दै आइरहेका थियौ अब महिला फुटबलको पनि विकास गर्नुपर्छ भनेर टिम तयार गर्न लागेका हौं’ उनले भने, ‘कसरी सुरुवात गर्ने भन्ने थियो र बागमति गोल्डकपबाट सुरु गरौं भन्ने संघको बैठकबाट पारित भयो र सोही अनुसार हामीले तयारी थालेका हौं ।’

बागमती गोल्डकपमा महिला खेलाडीले राष्ट्रिय खेलाडीहरु संग प्रतिस्पर्धा गर्दै अनुभव बटुल्नेछन् । प्रतियोगितामा सहभागिता जनाइ महिला फुटबलका लागि प्रदेशमा गतिविधि बढाउने समेत महासचिव गुरुङले जानकारी दिए । टोली सहभागिताका लागि नुवाकोट प्रस्थान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close