खेलकुद मन्त्री चौधरीको आफ्नै मनोमानी, राखेपलाई थाहा नै नदिई दशौं राष्ट्रिय खेलकुदको उपसमिति गठन

पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि उपसमिति गठन गरेका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता निर्देशिकामा कार्यसम्पादन समितिको संयोजकको रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिवले मन्त्रीको परामर्शमा उपसमिति गठन गर्ने प्रावधान रहे पनि आफ्नो एकल निर्णय गर्दै मन्त्री चौधरीले उपसमितिको संयोजक र सदस्य तोकेका छन् ।

मन्त्री चौधरीले मन्त्रालयको लेटरप्याडमा ११ वटा उपसमिति गठन गरेको सार्वजनिक गरेका हुन् । जुन विषय राखेपले गर्नुपर्ने थियो । त्यो कार्य मन्त्री चौधरीले सोझै मन्त्रालयबाट गर्दा राखेपका सदस्यहरु रुष्ट बनेका छन् । मन्त्री चौधरीले आफ्नै मनोमानी गर्दै निर्देशिका विपरित गरेको निर्णय विरुद्ध केही राखेप बोर्ड सदस्यहरुले विरोध जनाएका छन् ।

उनीहरुले यहि चैत्र २९ गते राखेपको बोर्ड बैठकमा सो विषय उठाउने तयारी गरिरहेको जनाए । उनीहरुले भनेका छन्–“मन्त्री ज्यूको यो निर्णय हामीलाई मान्य छैन । हामी यसका विरुद्ध आवाज उठाउँछौं । निर्देशिका विपरितको कार्य मन्त्रीले सच्चाउनु पर्छ । हामी अरुलाई कानुनी राज्य र सुशासनको कुरा सिकाउने अनि हामी आफैले बनाएको निर्देशिका विपरित गर्ने ? यो सम्भव हुन सक्दैन ।”

राखेपका बोर्ड सदस्यहरुको संयोजकत्व रहने गरी गठित ११ वटा उपसमितिमा विषय उपसमिति तथा समारोह उपसमितिमा रञ्जना प्रधान संयोजक रहेकी छिन् भने अर्की बोर्ड सदस्य नन्दा बस्याल सदस्य रहेकी छिन् ।

त्यस्तै प्राविधिक उपसमितिको संयोजकमा भानबहादुर चन्द, स्वास्थ्य उपसमितिको संयोजकमा जगतसिंह धामी, सुरक्षा प्रबन्ध उपसमिति संयोजकमा प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालयलाई जिम्मेवारी तोकिएको छ ।

खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा कमल प्रसाद भट्टराई, स्रोत परिचालन उपसमिति संयोजकमा अन्जन धमला, प्रचार प्रसार उपसमिति संयोजकमा प्रकाशकुमार कुसारी, व्यवस्थापन उपसमिति संयोजकमा सुवर्ण श्रेष्ठ, एन्टी डोपिङ उपसमिति संयोजकमा असीम भण्डारी, अनुसन्धान उपसमिति संयोजकमा हिमालकुमार श्रेष्ठ र पुनरावेदन उपसमिति संयोजकमा अनन्दकुमार झा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close