वालिङ गोल्डकपको उपाधि आयोजक युनाइटेड क्लबले जित्यो

पोखरा स्पोर्टस । आयोजक युनाईटेड क्लबले वालिङमा सम्पन्न ‘प्रथम वालिङ गोल्डकप २०७९” फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

वालिङ खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एभिनियर क्यामरुनलाई पराजित गर्दै वालिङ युनाइटेडले उपाधि जितेको हो । निर्धारित थप गरिएको समयमा कुनै गोल हुन नसकी टाइव्रेकरमा धकेलिएको खेलमा वालिङ युनाइटेड ४–३ गोल अन्तरले विजयी भएको हो ।

उपाधि सहित आयोजक वालिङ युनाइटेडले नगद ५ लाख जितेको छ भने उपविजेता रहेको एभनियर क्यामरुनले नगद २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

पेनाल्टी सुटआउटमा वालिङका सुबाश गुरुङ, विश्वास श्रेष्ठ, टिक राज गुरुङ र बिशु थापाले गोल गरे । कप्तान लक्ष्मण रुचाल गोल गर्न चुके । यता एभिनियरका एमबौनी जिन, एनगुइमबोउस स्टेफेन, बिली फ्रान्क डानिलले गोल गरे पनि गुइनि मारी डानिल र अब्डोउ रामानीले पेनाल्टी मिस गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता एभिनियरका टिम्बा रहे । उत्कृष्ट डिफेन्डर वालिङका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर वालिङका कमल थापा, उत्कृष्ट फरवार्डमा वालिङका टिक राज गुरुङ, उत्कृष्ट गोलकिपरमा वालिङका राजा बाबु थापा र उत्कृष्ट प्रशिक्षकमा वालिङका दिपिक थापा रहे भने इमर्जिङ प्लेयर वालिङ एफसी जुनियरका रुमेश हमाल र फेयर प्ले टिमको अवार्ड लिस्नु एफसी रुपन्देहीले प्राप्त गर्न सफल भयो । उनीहरुले जनही नगद ७–७ हजार हात पारे ।

गत पुस ३० गतेबाट सुरु भएको प्रतियोगितामा विभागिय नेपाल आर्मीको त्रिभुवन क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव समेत गरी ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई वालिङ नगर पालिकाका प्रमुख कृष्ण खाँण, गण्डकी प्रदेशका पूर्व सांसद मोहन रेग्मी लगायतले नगद, ट्रफी र मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । 

उक्त प्रतियोगितामा गत बुधबार सेमीफाइनल खेल चलिरहँदा प्रभुको हेलीकोप्टर एक्कासी ल्याण्ड हुँदा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको थियो । सो घटनामा पाइलट समेत कुटिएका थिए । सोही खेल हेर्न स्याङजाका ४ जना यूवाहरुले हेलिकप्टर चाटर्ड गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close