
पोखरा स्पोर्टस । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)द्वारा आयोजित ‘१६ औं एनएनआइपिए अवार्ड’मा फुटबलका विराज महर्जन र महिला तर्फ भलिवलकी अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।


ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । दुवैले अवार्डसहित जनही नगद रु १ लाख रुपैयाँ हात पारेका छन् ।
१६ औं एनएनआइपिए अवार्डमा २७ खेलका २७ खेलाडी उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृत हुनेमा १५ पुरुष र १२ महिला खेलाडी रहेका छन् । गत वर्ष कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएकोले नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मान्दै यस पटक ती खेलका खेलाडीलाई पुरस्कृत गरिएको संघका अध्यक्ष दिपक श्रेष्ठले जनाएका छन् । सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी छानिएका हुन् ।
उत्कृष्ट हुँदै पुरस्कृत हुने २७ खेलाडीमा आर्चरीकी ज्ञानु अवाले, एथलेटिक्सका किरणसिंह बोगटी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बक्सिङकी सुष्मा तामाङ, बास्केटबलकी सदिना श्रेष्ठ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की, गल्फकी करिष्मा शाह, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्याष्टिकका रोशन बुढाथोकी, करातेका विप्लव श्रेष्ठ र र्याफटिङ एन्ड क्यानोइङका सुमन तामाङ रहेका छन् ।
त्यसै गरी जुडोकी सुमित्रा राई, स्कीका सफलराम श्रेष्ठ, पौडीका अनुभव सुब्बा, सुटिङका कृष्ण थापा, कबड्डीका नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्राइयाथोलनका हिमाल टमाटा, टेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलकी अरुणा शाही, भारोत्तोलनकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र कुस्तीका सुरेश चुनारा उत्कृष्ट खेलाडी चुनिएका छन् । उत्कृष्ट घोषित हुने सवै खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धन उत्कृष्ट पारा खेलाडी घोषित भएकी छन् । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
अवार्ड कार्यक्रममा तेक्वान्दोकी पार्वती गुरुङ र ट्राइयाथोलनका हिमाल टमाटा एनएआइपिए प्रतिभाशाली खेलाडी घोषित भएका छन् । त्यसै गरी ब्याडमिन्टनमा जुनियरतर्फका नम्बर एक खेलाडी प्रिन्स दाहाल र दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता निमा घर्तीमगर उदियमान खेलाडी घोषित भएका छन् । उनीहरुले जनही नगद ५० हजारका साथमा एनएनआइपिए अवार्ड प्राप्त गरे ।
त्यसै गरी कार्यक्रममा १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा गजराज ओझा सम्मानित भएका हुन् । उनी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका हुन् । उनले नगद ३५ हजार प्राप्त गरे । उक्त अवार्ड गजराज जोशी स्मृति प्रतिष्ठानले स्थापना गरेको हो ।
साथै एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
