
पोखरा स्पोर्टस । पोखरामा राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ ।
गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको संयूक्त आयोजनामा हुने उक्त प्रतियोगिता यहि फागुन १५ देखि १७ गते सम्म हुने भएको गण्डकी फेन्सिङ संघका अध्यक्ष विजय शाहीले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
प्रतियोगितामा कुल ६ वटा इभेन्टहरु हुने आयोजक समितिका संयोजक महेश पौडेलले जानकारी दिएका छन् । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा हुने प्रतियोगितामा इपी महिला/पुरूष, इपी महिला/जुनियर, इपी महिला/पुरूष जुनियर/सिनियर टिमतर्फ स्पर्धा हुनेछ भने फोयलतर्फ महिला/पुरुष, महिला/पुरूष जुनियर तथा फोयल जुनियर/सिनियर टिमतर्फ प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित दुई विभागिय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब, बाग्मती प्रदेश, कोशी प्रदेश र सुदुर पश्चिम प्रदेशको सहभागिता हुने छ । कुल १ सय ७० जना खेलाडी र अफिसियलहरुको सहभागिता हुने प्रतियोगितामा गण्डकीबाट कास्की, नवलपुर र गोरखाका ३० जना भन्दा बढि खेलाडीहरु पहिलो पटक च्याम्पियनसिपमा आफ्नो दक्षता प्रदर्शन गर्नेछन् ।
नवौं राष्ट्रिय खेलकुद पश्चात पहिलो पटक पोखरामा फेन्सिङ खेलको वृहद प्रतियोगिता आयोजना हुन थालेको हो । ओलम्पिकमा समावेश फेन्सिङ खेल, मार्शल आर्ट खेलहरुको समिश्रण रहेकोले पनि निकै आकर्षक र उत्कृष्ट खेलको रुपमा लिने गरिन्छ ।
