
पोखरा स्पोर्टस । तनुहँको चुँदेर युवा क्लबद्वारा आयोजित प्रथम चुँदेर कप साबिक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब शुक्लागण्डकी २ कोत्रेले जितेको छ ।
व्यास नगरपालिका ५ मा चुँदेर खेल मैदानमा सम्पन्न फाइनल खेलमा सिद्धबाबा युवा क्लब व्यास १३ लाई २५–२१ र २५–२२ को सोझो सेटमा हराउदै अन्नपूर्णले उपाधि जितेको हो ।
उपाधिसँगै अन्नपूर्ण क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्याे । यसैगरी उपविजेता बनेको सिद्धबाबा क्लबलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सुक बहादुर थापामगरले जानकारी दिए ।
उनका अनुसार सान्त्वना स्थान हासिल गरेको त्रिवेणी युवा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा अन्नपूर्ण युवा क्लबका रवि गुरुङ घोषित हुदै पुरस्कृत भएका छन् । उत्कृष्ट स्पाइकरका रुपमा त्रिवेणी युवा क्लबका विवेक कुमाल र उत्कृष्ट लिफ्टरका रुपमा सिद्धबाबा क्लबका नवीन आले पुरस्कृत भए ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई व्यास नगरपालिका ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ तथा पुरस्कार प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
