
पोखरा स्पोर्टस् । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आयोजित लुम्बिनी पिस म्याराथन (४२.१९५ किमि) नेपाल आर्मीका खगेन्द्र बहादुर भाटले जितेका छन् ।

नेपाल ओलम्पिक कमिटिको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको सहकार्यमा विश्व शान्तीस्थल लुम्विनीमा सम्पन्न उक्त म्याराथन खगेन्द्रले २ घन्टा ४० मिनेट ०१ सेकेण्डमा पुरा गरेका हुन् । उनले जित संगै नगद १ लाख हात पारे ।
यसै गरी उक्त म्याराथनमा २ घन्टा ४२ मिनेट ५७ सेकेन्डमा दौड पुरा गरी करण खड्का दोश्रो हुँदा श्रीलंकाका धावक अमिला सनथ कुमारले २ घन्टा ४४ मिनेट २५ सेकेण्डमा दौड पुरा गर्दै तेश्रो भए । उनीहरुले क्रमश जनही नगद ५० हजार र २५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
म्याराथनमा विजेता धावकहरुलाई लुम्विनी प्रदेश प्रमुख अमिक शेरचन, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्व मन्त्री जिवनराम श्रेष्ठलगायतले नगद, प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए ।
यसै गरी ओलम्पिक कमिटीले अप्रिल ६ अर्थात अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्विनीमा दिप प्रज्वल समेत गरेको महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
