क्रिकेटलाई उद्योगको रुपमा स्थापित गर्न चाहन्छौं–अध्यक्ष, त्रिपाठी

क्रिकेटमार्फत जलवायु परिवर्तन विरुद्धको अभियानमा अघि बढ्नुपर्छ–लिजेन्ड क्रिकेटर, रोड्स

पोखरा स्पोर्टस/तस्बिरः सुदर्शन रञ्जित । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रुपमा स्थापित गर्ने बताएका छन् ।

पोखरा एभेन्जर्सले पोखरामा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा जनाएका हुन् । नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको भविष्यको बाटो कोरेको जनाउँदै उनले पोखरा एभेन्जर्सले यूवा खेलाडी उत्पादन गर्दै व्यवसायिक क्रिकेटलाई अघि बढाउन उद्योगको रुपमा स्थापित गर्ने बताए ।

अध्यक्ष त्रिपाठीले नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले लिएको खुलासा समेत गर्दै भने–“अहिले नै हामीले नाफा घाटाको कुरा गरेका छैनौं । हामी व्यवसायिक क्रिकेट खेलको विकास होस भन्ने चाहन्छौं,” उनले प्रस्ट्याउँदै भने–“यहाँ नाफा वा घाटाको विषय नै होइन । कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्छ । हामी क्रिकेट विकासका लागि आएका हौं । हामी त्यो मार्गमा अग्रसर हुन चाहन्छौं ।”

नेपाल हिमाल र पहाड संग जोडिएको र यही संग सम्वन्ध गाँस्दै यहाँको पर्यटन समेत गाँसिएको जनाउँदै अध्यक्ष त्रिपाठीले नेपाली जनजिवन र जलवायु परिवर्तनले गरेको असरका सम्वन्धमा जागरण जगाउन पोखरा एभेन्जर्सले आफ्नो जर्शी अनावरण समेत हिमाली क्षेत्रमा गरेको जनाए । उनले भने–“अहिले जलवायु परिवर्तन समस्याको रुपमा देखिएको छ । हामी क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन संगै जलवायु परिवर्तन र हिमाली जनजिवनका देखा परेका असरहरुलाई विश्वसामु पुर्याउन चाहन्छौं ।”

पोखरा एभेन्जर्सले पोखरा केन्द्रित प्रशिक्षण लगायतका कार्यक्रमहरु गर्ने जनाउँदै अध्यक्ष त्रिपाठीले पोखरा हिरोजका लागि मात्रै ३ सय भन्दा बढिको आवेदन आएको जनाए । टिममा प्रशिक्षक राजिव कुमार टिम संगै रहेर काम गर्ने जनाउँदै पोखरा एभेन्जर्सले ग्रास रुट क्रिकेटको विकासमा समेत बढि ध्यान दिने बताए ।

पोखरामा आयोजित र्‍यालीले निकै उत्साहित भएको जनाउँदै सम्पन्न कार्यक्रले पोखरा एभेन्जर्सका लागि फ्यान फोलोइङ बढाउन सहयोग हुने जनाए । चार विदेशी खेलाडीसहित पोखरा एभेन्जर्स टिम सन्तुलित र बलियो टिम रहेको उल्लेख गर्दै उनले पहिलो सिजनमा करिव १० करोड खर्च हुने उल्लेख गरे ।

यस्तै टिमको सल्लाहकार परामर्शदाताको रुपमा रहेको लिजेन्ड क्रिकेटर जोन्टी रोड्सले आफू पोखरा आउन पाउँदा र पोखरा एभेन्जर्स संग जोडिन पाउँदा खुसीलागेको बताउँदै पोखरा क्रिकेट रंगशाला विश्वकै उत्कृष्ट रंगशाला भएको बताए । उनले भने–“भारतको धर्मशाला लगायतका स्टेडियम उत्कृष्ट स्टेडियम भएको सुनिन्छ । तर म भन्छु विश्वकै उत्कृष्ट क्रिकेट स्टेडियम कहिं छ भने त्यो पोखरा स्टेडियम नै हो । जहाँ म खेल्न संधै उत्साहित हुने छु र मैले मौका पाए भने त्यो अवसर गुमाउने छेन ।”

सबै मिलेर नै विश्वमा भयावहरुपमा रहेको जलवायू परिवर्तनको समस्या निराकरणका लागि लाग्नु पर्ने उल्लेख गर्दै नेपाली क्रिकेट खेलको विकासका लागि लगानीमा जोड दिनुपर्ने एक क्रिकेटरको नाताले सबैका लागि आफ्नो सल्लाह रहेको बताए । यूवा क्रिकेटरलाई अवसर संगै लगानी गर्न सकेमा मात्रै नेपाली क्रिकेटको भविष्य उज्जवल रहेको जनाउँदै उनले भने–“नेपाली क्रिकेटको विकासमा म एक सानो हिस्साको रुपमा रहन पाउँदा खुसी लागेको छ । नेपाली क्रिकेटको भविष्य र यहाँको क्रिकेट प्रतिको मोह निकै रोचक छ ।” 

पोखरा एभेन्जर्सको टोली आज बिहिबार नै काठमाण्डौ फर्किने छ । जोन्टी बिहीबार दिउँसो नै काठमाडौं फर्किएर टिमका खेलाडीलाई प्रशिक्षण दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम तय भएको अध्यक्ष त्रिपाठीले जनाएका छन् ।
बिहिबार सम्पन्न कार्यक्रमको लिंक

पोखरा एभेन्जर्सद्वारा पोखरेलीहरुको समर्थन जुटाउन र्‍यालीको आयोजना, जोन्टी पनि सहभागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close