
पोखरा स्पोर्टस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीले आयोजना गर्ने १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिट २०८१ मा ह्याण्डबल खेल समावेश हुने भएको छ ।
प्याब्सन स्पोर्टस मिटमा पहिलो पटक ह्याण्डबल खेल समावेश गरिएको ह्याण्डबल खेल प्रतियोगिताका संयोजक श्रीकृष्ण अधिकारीले जानकारी दिएका हुन् । विद्यालय ह्याण्डबल संघ कास्कीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले सो बारे जानकारी दिंदै भने–“गण्डकी प्रदेशमा नै लोकप्रिय खेलको रुपमा रहेको ह्याण्डबल खेललाई प्याब्सनले पहिलो पटक समावेश गरेको छ । यो हाम्रो लागि महत्वपूर्ण विषय हो ।”
पहिलो पटक प्याब्सन स्पोर्टस मिटमा समावेश हुने ह्याण्डबल खेललाई सफल बनाउन संयोजक अधिकारीले गण्डकी प्रदेश ह्याण्डबल संघ, जिल्ला ह्याण्डबल संघ कास्की र पोखरा महानगर ह्याण्डबल संघलाई आग्रह समेत गरेका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखराका सबै विद्यालयहरुमा ह्याण्डबल खेल लोकप्रिय रहेको कुरा जनाउँदै संयोजक अधिकारीले प्याब्सन स्पोर्टस मिटमा ‘प्याब्सन कास्की’मा आवद्ध रहेका एकै पटक १ सय भन्दा बढि विद्यालयमा यसको सूचना प्रवाहित भइसकेको र विद्यालयहरु सहभागिताका लागि उत्साहित समेत रहेको उनले जनाए ।
पहिलो पटक प्याब्सन स्पोर्टस मिटमा छात्र/छात्रा तर्फ कक्षा ६ देखि ८ सम्मको जुनियरतर्फ प्रतियोगिता समावेश गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
प्याब्सन स्पोर्टस मिट अन्तर्गत छात्र/छात्रा भलिबल, बास्केटबल, टेबुल टेनिस, फुटबल, एथलेटिक्स, व्याडमिन्टनलगायतका प्रतियोगिताहरु समावेश हुँदै आएका छन् । प्रतियोगितामा सबै खेलका गरी ५ हजार भन्दा वढि विद्यार्थीहरु खेल मैदानमा उत्रिने छन् । प्याब्सन कास्कीले सिनियर र जुनियरतर्फ गरी छुट्टा–छुट्टै प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।
