
पोखरा स्पोर्टस । नेपाली दुई खेल भलिबल र तेक्वान्दोले मुख्य प्रशिक्षक पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपालको राष्ट्रिय खेल भलिबलमा जगदीस भट्ट र तेक्वान्दोमा पूर्ण योन्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
तेक्वान्दोको मुख्य प्रशिक्षकमा जिम्मेवारी पाएका योन्जन २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका हुन् । योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
यस्तै भलिबलको मुख्य प्रशिक्षकमा नियुक्ति पाएका भट्ट २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका गरेका थिए । प्रशिक्षक भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए संगै भट्टलाई जिम्मेवारी दिईएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षकमा स्वागत गरेका छन् । नियुक्ती पत्र हस्तान्तरण गर्दै घिसिङले सम्वन्धित खेलले थप गति लिने विश्वास व्यक्त गरे ।
