
पोखरा स्पोर्टस । खेलकूद र यूकेबाट आएको टोली विच पोखरामा मैत्रीपूर्ण फूटबल खेल सँगै नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकूदले विदेशमा वस्ने नेपाली खेलप्रेमी तथा सामाजिक अभियान्ताहरु संग अविछिन्न रुपमा भाइचारा स्थापित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।




सो अवसरमा वोल्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङले पोखरा रंगशालाको पूर्वाधार निर्माणमा तमु धिं यूके, सहारा यूके लगायत देश विदेशमा रहनुहुने नेपाली दाजुभाईहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले भने–“हाम्रा विदेशमा रहनुभएका नेपालीहरुले खेलकूदलाई गरेको सहयोगको गुन यति ठूलो छ की न त कहिल्यै विर्सन सकिन्छ न त लेखेर नै ।”
१३ औं दक्षिण एशियाली खेलकूद (साग) नेपालमा भव्यरुपमा सम्पन्न गर्न सबैको उत्तिकै सहयोग रहेको धारणा अघि सार्दै नवौं राष्ट्रिय खेलकूदका लागि शुटिङ, स्विमिङ पूल, क्रिकेट रंगशाला लगायतका पूर्वाधारहरुको निर्माण कार्य छिट्टै शुरु गरिने तथा पोखरा रंगशाला फुटबल स्टेडियमको संरक्षणका लागि समेत केही प्रक्रिया अघि सारिएको राखेप सदस्य गुरुङले बताए ।
सो अवसरमा राखेप सदस्य गुरुङले यूकेबाट आएको टोलीलाई १३ औं सागको मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, क्षेत्रिय खेलकूदका पूर्व उपाध्यक्ष सुनिल गुरुङ, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, क्षेत्रिय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
सो अवसरमा पोखरामा भइरहेका विभिन्न खेलकूद गतिविधि लगायत सामाजिक अभियानको कामको अवलोकनका लागि पोखरा आएको पोखरेली मञ्च यूके तथा तमु धिं यूकेका कोषाध्यक्ष कमल गुरुङ, सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङ ‘एमविई’, वगर भाई खलक यूकेका अध्यक्ष चन्द्रमान गुरुङ, तमु धिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, खेलप्रेमी तथा समाजसेवी लालकाजी गुरुङ, दिलरास गुरुङ, भोज बहादुर घले, सहारा हङकङका उपाध्यक्ष विल तामाङ लगायत अन्य महानुभावहरुको सहभागिता रहेको थियो ।
