ओलम्पियन भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । पोखरा स्पोर्टस अवार्डमा प्रदान गरिएको लाइफटाइम एचिभमेन्ट अवार्ड दोस्रो पटक महिला खेलाडीलाई प्रदान गर्न लागिएको हो ।

खत्रीलाई वैशाख २६ गते हुने कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ ।

बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितिसकेकी छिन् । उनले नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्वितिय र १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी प्राप्त गरिसकेकी छिन् ।

अन्तर्राष्ट्रियतर्फ सिड्नीमा भएको सत्ताइसौं ओलम्पिक गेममा सहभागि उनले राष्ट्रिय कीर्तिमानी समेत कायम गरेकी थिइन् । विभिन्न ७ वटा संस्करणका एशियन गेम्समा सहभागिलगाएत साफ च्याम्पियन र अन्तर्राराष्ट्रिय शुटिङ प्रतियोगितामा सहभागि भइसकेकी छिन् । खत्रीले गोरखा दक्षिण बाहु मानपदवी प्राप्त गरिसकेकी छिन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन २०६३ बाट उत्कृष्ट खेलाडीको रुपमा घोषणा भइसकेकी छिन् । गण्डकी प्रदेशमा शुटिङ प्रशिक्षकको रुपमा २०५१ सालदेखि खेलाडीलाई निशुल्क प्रशिक्षण समेत गराउँदै आएकी छिन् ।

यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, प्रा. डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्लले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close