
पोखरा स्पोर्टस । मित्रराष्ट्र भारतमा सम्पन्न उमेर समुह अन्तर्गत यू–१८ पुरुष आईएचएफ ट्रफीमा कांस्य पदक जित्न सफल टोलीलाई स्वागत संगै बधाई दिइएको छ ।
कास्की जिल्ला ह्याण्डबल संघले एक कार्यक्रम गरी जितका लागि बधाई संगै नेपाली राष्ट्रिय यू–१८ टोलीमा सहभागि रहेका गण्डकीका खेलाडीहरुलाई स्वागत गरेको हो ।
पोखरा रंगशालामा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, कास्की ह्याण्डबलका अध्यक्ष क्या.जग बहादुर गुरुङ, गण्डकी ह्याण्डबलकी उपाध्यक्ष शान्ती थापा बैद्य, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की ह्याण्डबलका निवर्तमान अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबलकी उपाध्यक्ष बाला गुरुङ, कास्की ह्याण्डबल रेफ्रि संयोजक गोपाल थापा लगायतले स्वागत संगै बधाई दिएका थिए ।
सो अवसरमा टिमका हेड कोच तथा राष्ट्रिय सिनियर पुरुष टिमका कप्तान विशाल बस्नेतले प्रतियोगिताका बारेमा जानकारी दिंदै केही तालमेल अभावका कारण यू–१८ मा कास्य पदक जिते पनि यू–२० तर्फ जित हासिल हुन नसकेको बताए ।
जुलाई १० देखि १४ तारिखसम्म भएको प्रतियोगितामा यु–१८ तर्फ तेश्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३०–२८ ले पराजित गरेको थियो । यु–२० मा भने तेश्रो स्थानका लागि नै भएको खेलमा माल्दिभ्सले नेपाललाई हराएको थियो । दुवै उमेरसमूहमा नेपालबाट पुरुष टोलीले सहभागिता जनाएको थियो ।
