ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको राष्ट्रपति पौडेलले गरे बिदाइ

पोखरा स्पोर्टस । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिक– २०२४ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई सफलताको शुभकामना दिदै शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति पौडेलले टोलीलाई बिदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

जुलाइ २६ देखि अगष्ट ११ तारिखसम्म हुने पेरिस ओलम्पिकमा ६ खेलमा ७ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पौडीमा एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रि स्टायल र डुवाना लामाले महिला २ सय मिटर फ्रि स्टायल, एथलेटिक्समा सन्तोषी श्रेष्ठले महिला म्याराथन (४२.१९५) किलोमिटर तथा ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै जुडोमा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि, टेबलटेनिसमा श्यान्टु श्रेष्ठले पुरुष सिंगल्स र सुटिङमा सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । एलेक्जेन्डर, डुवाना र श्यान्टु हाल विदेशमै प्रशिक्षणरत छन् । ७ खेलाडी मध्ये श्यान्टु भने छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले ओलम्पिकमा सहभागिता जनाउन लागेको पहिलो पटक हो ।

पौडीको प्रशिक्षकमा नयना शाक्य, एथलेटिक्सको प्रशिक्षकमा कान्ती महतो, टेबलटेनिसको प्रशिक्षकमा राजेन्द्र कपाली, जुडोको प्रशिक्षक देबु थापा र सुटिङको प्रशिक्षकमा प्रदीप खाँती रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक एटेची चतुरानन्द राज वैद्य, टिम अफिसियल अशोकरत्न वज्रचार्य, दीपकहर्ष वज्राचार्य, रामजीबहादुर श्रेष्ठ, पुष्पदास श्रेष्ठ, ज्योति राणा, प्रकाशकुमार कुसारी, पिताम्बर तिम्सिना र अफिसियल रिखीराम पोख्रेललाई पनि सोही अवसरमा राष्ट्रपति पौडेले बिदाइ गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए । उनले हार र जित खेलको पाटो भएको बताउदै ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ संकल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाए । उनले ओलम्पिकमा खेलाडीले नयाँ रेकर्ड कायम गरेर फर्कनेमा आफू आशावादी रहेको बताए ।

खेलकुद मन्त्री चौधरीले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै नेपालको खेल जगतलाई ओलम्पिकमा चिनाउन आग्रह आग्रह गरे ।

उनले भने, ‘नेपालीको शीर त उँचो छदै छ । अब खेलकुदको माध्यमबाट ओमल्पिकमा उत्कृष्ट प्रदर्शन गर्नु होला । नेपालीको शान र पहिचान कायम राख्नु होला मेरो र मन्त्रालयको तर्फबाट शुभकामना छ ।’ खेलाडी नै राष्ट्रको गहना भएकाले नडराइकन देश र प्रतिष्ठाको लागि खेलाडीहरूलाई खेलमा भाग लिन उनको आग्रह थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close