
पोखरा स्पोर्टस । तेस्रो संस्करणको हिमालयन एक्सट्रिम ट्रायथलन भोली (शनिबार) हुने भए संगै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

सहाशिक खेलकुदको अति उत्कर्ष मानिएको उक्त प्रतियोगिताको आयोजक संस्था हिमालयन एक्सट्राईले सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । यसै क्रममा उक्त प्रतियोगिताको पहिलो दिन सहभागि खेलाडीहरुको एक परिचय कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
खेलाडी परिचय कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व प्रधानमन्त्री झलनाथ खनालले सहाशिक खेलकुदका प्रतियोगिताले नेपाललाई चिनाउन भूमिका खेलेको प्रति खुसी व्यक्त गर्दै हिमालयन एक्सट्राइले विगत दुई वर्ष देखि निरन्तर यो प्रतियोगिता आयोजना गर्नु महत्वपूर्ण रहेको बताए ।
नेपाललाई सहाशिक खेलकुद गन्तव्यको रुपमा पहिचान दिलाउन सबै सरोकारवालकोहरुको भूमिका समेत उत्तिकै अपरिहार्य रहेको जनाउँदै पूर्व प्रधानमन्त्री खनालले खेलाडीहरुलाई जितको शुभकामना दिए ।
सो अवसरमा बोल्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई चिनाउन यो कार्यक्रम महत्वपूर्ण रहेको जनाउँदै सन २०२९ मा पोखरामा हुने वर्ल्डकप एक्सट्रिम ट्रायथलन प्रतियोगिता आयोजना गर्न पोखरा महानगरले साथ र सहयोग दिने प्रतिवद्धता समेत जनाए ।
यसै बीच हिमालयन एक्सट्रिमका रेस डाइरेक्टर रिकेश योन्जनले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएका छन् । विश्वकै कठिन प्रतियोगिताको मध्येको एक उक्त प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किमि पौडी, १७५ किमि साइक्लिङ र ४३ किमि दौड समावेश रहेको छ ।
प्रतियोगिता शनिबार फेवातालमा पौडी बाट सुरु हुनेछ । विहान साढे ३ बजे सहभागिहरु ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न हुनेछ ।
त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ भने प्रवर्द्धकमा नेपाल पर्यटन बोर्डको कार्यालय गण्डकी प्रदेश रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले गत वर्ष देखि प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको बताए ।
भोली शनिबार आयोजना हुने तेस्रो सस्करणको प्रतियोगितामा विभिन्न २५ देशका ३६ खेलाडीहरुको सहभागिता रहेको छ ।
