बसन्तपुर डवलीमा चैत्र १९ गते रेस्लिङ हुने


पोखरा स्पोर्टस । यहि चैत्र १९ गते शनिबार काठमाडौंस्थित बसन्तपुर डवलीमा रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ संघले आइतबार एक पत्रकार सम्मेलन गरी काठमाडौको ऐतिहासिक पुरातात्विक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं विश्व सम्पदा स्थल बसन्तपुर डवलीमा प्रतियोगिता गर्ने जनाएको हो । उक्त प्रतियोगितामा देशका उत्कृष्ट रेस्लरहरु सहित “1st  Heritage RW National Championship”  राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको संघकी अध्यक्ष सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

प्रतियोगितामा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङे, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ्ग श्याडी, स्पाईडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५ हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाईट वेट फिमेल च्याम्पियनले ६५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनीले खेल संचालन गर्नेछन् भने कार्यक्रम सञ्चालन ख्याती प्राप्त कलाकार जीवन तामाङले गर्नेछन् ।

प्रतियोगिताका लागि करिब १५ लाख खर्च हुने अध्यक्ष श्रेष्ठले जानकारी गराउँदै नेपालमा रिङ्ग रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको उनले बताइन् । उनका अनुसार विश्वमा मात्रै नभई नेपालमा समेत रिङ रेस्लिङ खेलको लोकप्रियता वढिरहेको बताउँदै नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादनसँगै निरन्तर रुपमा तालिमको ब्यबस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरेको जानकारी उनले दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close