
पोखरा स्पोर्टस । विभागीय टोली आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन । सिमा खड्का र कमला चन्दले एक–एक गोलको योगदान दिए ।
आर्मीका लागि खेलको चौथो मिनेटमा आर्मीकी सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन ।
यस्तै गण्डकीका लागि खेलको १६औं मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन । खेलको १८औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २–१ गोलको अग्रता दिलाइन् ।
खेलको २४औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाइन । खेलको ५७औं मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन् । फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द बनेकी छन् ।
उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ प्रप्त गरेको छ भने उपबिजेता गण्डकीले नगद ७५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
आज तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १–० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गरेको छ । मधेस प्रदेशका लागि खेलको २७औं मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन् ।
प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकि सरस्वती बेस्ट स्कोरर हुन सफल भइन । प्रतियोगितामा इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकी नमिता एसके चुनिएकी छन् । बेस्ट गोलकिपरमा गण्डकीकि गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकि सरिता मेचे र आर्मीकै निलिमा पान्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिएकी छन् । उनीहरुले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।
