
पोखरा स्पोर्टस । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश प्रजापति र भुवन नगरकोटी समग्रमा २–अन्डर १ सय ३४ सहित शीर्षस्थानमा रहेका छन् ।
उनीहरूले ३६ होलको समाप्तीमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे । दिनेशले आज ४–अन्डर ६४ मा खेल सकाएका हुन् । भुवनले भने २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे । समग्रमा इभन–पार १ सय ३६ सहित रवि खड्का तेस्रो स्थानमा छन। उनले आज १–अन्डर ६७ को स्कोर दर्ज गरे।
समग्रमा १–ओभर १ सय ३७ सहित रामे मगर, निरज तामाङ र भुवन कुमार रोक्का संयुक्तरुपमा चौथो स्थानमा छन। रामेले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा दोस्रो दिनको खेल सकाए। निरज र भुवनले इभन–पार ६८ स्कोर गरे ।
यसैगरी जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्तरुपमा सातौं स्थानमा छन् । उनीहरूले समग्रमा २–ओभर १ सय ३८ को स्कोर बनाएका छन। दुवैले आज इभन–पार ६८ मा खेल सकाए ।
प्रो कार्ड लिएपछि पहिलो पटक घरेलु टुर खेलिरहेका सुबाश तामाङले आज १–अन्डर ६७ सहित समग्रमा ३–ओभर १ सय ३९ को स्कोर गरे । उनी नवौं स्थानमा रहेका छन। समग्रमा ४–ओभर १ सय ४० सहित संयुक्तरुपमा दशौं स्थान बाँडे। दुवैले २–ओभर ७० मा खेल सकाए ।
३६ होलको समाप्तीमा १७–ओभर १ सय ५३ सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ४ एमेच्योर गरी २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ तोरण विक्रम शाही, टंक बहादुर कार्की, प्रदीप कुमार लामा, कृष्णमान राजबाहक, टासी घले, भिमसेन चौलागाई, वसन्त राज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भु बहादुर गुरुङ र किसन कालीराज सुनारले अन्तिम ३६ होलको लागि स्थान बनाए ।
एमेच्योरतर्फ टासी छिरिङ समग्रमा २–ओभर १ सय ३८ सहित सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका छन् । उनले आज २–अन्डर ६६ को स्कोर निकाले । दाबेदार युवा गल्फर सदभाव आचार्यले समग्रमा ३–ओभर १ सय ३९ स्कोर खडा गरे। आज उनले १–अन्डर ६७ को कार्ड बनाए । राहुल विश्वकर्मा समग्रमा १०–ओभर १ सय ४६ सहित तेस्रो स्थानमा छन। उनले आजको खेल इभन–पार ६८ मा सकाए । यी तीन एमेच्योरसँगै भरत थापा मगरले पनि कट बनाए ।
आज ४–अन्डर ६४ को उत्कृष्ट कार्ड बनाउँदै दिनेश पाँचौं स्थानबाट संयुक्तरुपमा शीर्षस्थानमा उक्लिएका हुन। उनले सुरूवात सानदार गरे । पहिलो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दा पाँचौं होलमा एक सट खेर फाले । उनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए। यसपछि १५औं होलको बोगीको विरूद्ध १०औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइनमा १–अन्डर ३३ खेले ।
पहिलो दिनका लिडर भुवनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए। पहिलो र छैटौं होलमा बर्डी प्रहार गरे पनि चौथो होलमा डबल बोगी खेपे । यसपछि उनले ब्याक नाइनमा चार वटा बर्डीको सफलता प्राप्त गरे । १०औं, १३औं, १५औं र १६औं होलमा एक–एक सट बचाए । १४औं र १८औं होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा सकाउन बाध्य भए ।
रविले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे। पहिलो र चौथो होलमा इगल प्रहार गर्दै चार सट बचाए । तेस्रो होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । तर ब्याक नाइनमा उनले लय गुमाए। १४औं देखि १६औं होलमा लगातार तीन बोगी खेपे र ब्याक नाइन ३–ओभर ३७ मा पुरा गरे ।
चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ । विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् । टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
