शेरबहादुर खड्का स्मृति भलिबल : न्यु डायमन्ड र एपीएफ विजयी सुरुआत

पोखरा स्पोर्टस । डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड र एपीएफ क्लबले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१२, २५–१५, १७–२५ र २५–२१ को सेटमा पराजित गर्‍यो । न्यु डायमन्डकी सुमित्रा रेग्मी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

पुनमलाई स्पेशल अवार्ड 


आयोजक प्रतिष्ठानले उद्घाटनका अवसरमा भलिबल खेलाडी पुनम चन्दलाई स्पेशल अवार्डबाट सम्मान गरेको छ । पुनमलाई आफ्नो खेल कौशल र महिला भलिबलको क्षेत्रमा पुर्‍याएको योगदान भावी खेलाडीका लागि पनि अनुकरणीय हुने भन्दै सम्मान गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पुनमलाई ५० हजार नगदसहित ट्रफी प्रदान गरी सम्मान गरे ।

पुनमले २०७६ साउन ३२ देखि भदौ ८ गते सम्म बंगलादेशको ढाकामा सम्पन्न प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण, २०७६ मंसिर १५ देखि २४ गतेसम्म नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक रजत र गत वर्ष नेपालमा आयोजना भएको तेस्रो एभीसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक दिलाउन योगदान गरेकी थिइन् ।

शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो खेलमा एपीएफले नेपाल प्रहरी क्लबलाई २५–२१, २२–२५, २५–१७ र २५–१६ को सेटमा हरायो । एपीएफकी सरस्वती चौधरी ‘प्लेयर अफ दि म्याच’ बनिन् । विजेता दुवै टोलीले समान ३–३ अंक जोडेका छन् ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । नेरोलेकको मुख्य प्रायोजनमा भइहरेको प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् ।

तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजार रुपैयाँ नगदबाट पुरस्कृत प्रदान गरिने छ ।

शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिमले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगको शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबार पनि २ खेल हुनेछ । पहिलो खेलमा आर्मी र एपीएफ भिड्ने छन् । दोश्रो खेलमा प्रहरीले न्यु डायमन्डको सामना गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close