साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की बैशाख १५ गतेबाट

पोखरा स्पोर्टस । साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता बैशाख १५ देखि १९ गते सम्म काभ्रेको धुलिखेल नगरपालिकास्थित धुलिखेल खेलकुद मैदानमा हुने भएको छ ।

नेपाल हक्की संघले एक पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने संघकी महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः नगद रु १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गर्ने संघले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने जनाउँदै अध्यक्ष सुनिल प्रसाद शर्माले प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने जनाएका छन् ।

रंगशाला र प्रशिक्षण केन्द्रका लागि जग्गा 
पत्रकार सम्मेलनमा हक्कीको अन्तर्राष्ट्रिय स्तरको रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिइयो । महासचिव श्रेष्ठले रंगशाला र प्रशिक्षण केन्द्र बनाउन काभ्रेको धुलिखेल नगरपालिकाले हक्की सघंलाई धुलिखेल नगरपालिकाको वडा नं. १२ मा रहेको खेल मैदान उपलब्ध गराएको बताइन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले सोका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र अन्तिम चरणमा पुगको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close