
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
संघको साधारण सभा पोखरामा बुधबार अवेर गरी सम्पन्न भएको हो । पोखरा रंगशालामा सम्पन्न साधारण सभामा गण्डकी प्रदेश टिमका १४ जना खेलाडीहरु २ जना अफिसियलहरु गरी १६ जनालाई नगद र सम्मानपत्रसहित सम्मानित भएका छन् । संघले आफ्ना खेलाडीहरुको हौसला बढाउन साधारण सभाको अवसर छोपेर सम्मान गरेको अध्यक्ष नविन कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
“खेलाडीहरुले प्रदेशको भलिबल खेललाई माथी उठाउन निकै मेहनत गरेका छन् । राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सफलता हात पारेका छन्,” अध्यक्ष गुरुङले भने–“हामी संग सिमित स्रोत छ । देश भित्र र बाहिरबाट सहयोगी मनहरुबाट नै प्रदेशको भलिबल जोगाउने काम गरेका छौं । त्यसै मार्फत खेलाडीहरुले समेत आफ्नो योगदान दिएका छन् । जुन विषय हाम्रो लागि महत्वपूर्ण हो ।”
साधारण सभाको अवसरमा खेलाडीहरुलाई जनही नगद २८ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकास मन्त्री राजिव गुरुङले सम्मानपत्र प्रदान गरेका थिए ।
यस्तै कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीलाई समेत उनले भलिबल खेलमा दिएको योगदानको कदरपत्र द्वारा सम्मान गरिएको छ । सो अवसरमा संघका पूर्व अध्यक्ष छ्याम बहादुर थापा, संघका पूर्व केन्द्रिय सचिव डिबी नेपाली र केन्द्रिय सदस्य राजकुमार गुरुङलाई प्रदेशको भलिबल खेलमा निरन्तर सहयोग र सहकार्यका लागि सम्मान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
उद्घाटनका अवसरमा म्याग्दी जिल्ला भलिबल संघले जिल्लामा भलिबल खेलको विकासका लागि गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको छ । संघले आफ्ना मातहातका जिल्लाहरुलाई पहिलो पटक यसरी सम्मानको थालनी गरेको हो ।
सोही अवसरमा रोजगारीको शिलसिलामा जापान प्रस्थान गर्न लागेका प्रदेशका भलिबल खेलाडी द्वय रवि केसी र घनश्याम चौधरीलाई टाइगर ग्रुप अफ नेपालले जनही नगद ५ हजारसहित विदाई गरेको छ । ग्रुपका अध्यक्ष एवं नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्माले उनीहरुको उज्जवल भविष्यको कामनासहति विदाई गरेको डिवी नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
संघका अध्यक्ष गुरुङको सभापतित्वमा सम्पन्न प्रथम साधारण सभामा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, संघका उपाध्यक्ष हरिकुमार श्रेष्ठलगायतले आफ्ना भनाई राखेका थिए ।
प्रथम साधारण सभामा महासचिव तहल सिंह थापा मगरले प्रस्तुत गरेको वार्षिक कार्यक्रम तथा योजनाको प्रतिवेदन तथा कोषाध्यक्षको आय–व्यव प्रतिवेदन पारित गरेको छ ।
