गण्डकी प्रदेश आइस हक्की संघ गठन, ‘पूर्वाद्धार निर्माण गछौं’–अध्यक्ष पाठक

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आइस हक्की संघ गठन भएको छ । नेपाल आइस हक्की संघको संयोजनमा पोखरामा सम्पन्न एक भेलाले गण्डकी प्रदेश आइस हक्की संघ गठन गरेको हो ।

नवगठित संघको अध्यक्षमा विरेन्द्र पौडेललाई चयन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा मनिष केसी, सचिवमा पूर्ण बहादुर गुरुङ, कोषाध्यक्षमा बिष्णु कार्की चयन भएका छन् । यसै गरी कार्यसमिति सदस्यमा शिव पौडेल, निपेन्द्र श्रेष्ठ, इश्वरी चापागाई र राजु गिरी रहेका छन् ।

भेलाले विभिन्न ६ जिल्लामा आइस हक्की खेलको प्रचार र प्रवर्द्धन गर्न संयोजक तोकेको छ । स्याङजाको संयोजकमा शिव पौडेल, लमजुङको संयोजकमा प्रल्हाद बोहोरा, पर्वतको संयोजकमा विशाल महत, बागलुङको संयोजकमा शान्ती श्रीष मगर, तनहुँको संयोजकमा उपेन्द्र श्रेष्ठ र कास्कीको संयोजकमा तिर्थ सुवेदी रहेका छन् ।

यस अघि भेलाको उद्घाटन बागमती प्रदेश सभाका सभामुख एवं नेपाल आइस हक्की संघका केन्द्रिय अध्यक्ष भुवन पाठकले गरे । सो अवसरमा बोल्दै सभामुख पाठकले विश्वमा लोकप्रिय रहेको खेल आइस हक्कीको विकासका लागि संघ प्रतिवद्ध रहेको जनाउँदै बागमती र गण्डकी प्रदेशको राजधानी पोखरामा पूर्वाधार निर्माण गर्ने गरी छलफल अघि बढेको बताए । नेपालमा आइस हक्कीको विकासका लागि संघले खेलाडी उत्पादन र खेल पूर्वाद्धार निर्माणको विषय प्राथमिकतामा राखेको जनाउँदै भने–“आइस हक्की विश्वमा यूवाहरु माझ निकै लोकप्रिय छ । हामी पूर्वाद्धार निर्माण संगै खेलाडी उत्पादनतर्फ ध्यान केन्द्रित गर्दैछौं ।”

आइस हक्की खेल इन्डोर स्टेडियममा खेलिने खेल भए पनि संघले एक अन्तर्राष्ट्रिय प्रतियोगिता सगरमाथा नजिकको हिमतालमा आयोजना गर्ने गरी तयारी समेत गरिरहेको अध्यक्ष पाठकले बताए । नेपालमा समेत पछिल्लो समय आइस हक्की खेलप्रति रुची बढ्दै गएको बताउँदै उनले पूर्वाद्धारको निर्माणले खेल पर्यटनमार्फत मुलुकमा पर्यटन आर्थिक समृद्धिको ढोका समेत खुल्ने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवं सांसद पञ्चराम गुरुङले सहाशिक खेलकुदका कार्यक्रमले नै प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेशको विकासका लागि खेलकुदको विकास अपरिहार्य रहेको बताउँदै सांसद गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको हवको रुपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।

नेपाल आइस हक्की संघका उपाध्यक्ष विजय खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गण्डकी प्रदेशलाई सहाशीक खेलकुद गन्तव्यको रुपमा अघि बढाउन आइस हक्की संघले प्रभावकारी रुपमा आफ्ना कार्यक्रम अघि बढाउनु पर्ने औंल्याए । कार्यक्रममा कास्की जिल्ला खेलकुदका उपाध्यक्ष विजय बहादुर भण्डारीले समेत् आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close