७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप : पहिलो दिन र्‍याङ्किङ राउण्डका खेल सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा शुक्रबारबाट सुरू भएको ७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ अन्तर्गत पहिलो दिन र्‍याङ्किङ राउण्डका खेलहरू सम्पन्न भएका छन् भने केही खेल इभेन्टमा गण्डकीले काश्य पदक हात पारेको छ ।

प्रतियोगिताको उद्घाटन लगतै सुरू भएको रिकर्व, कम्पाउण्ड र स्टाण्डर्ड गरी तीन छुट्टा–छुट्टै इभेन्टअन्तर्गत पुरूष/महिलातर्फ र्‍याङ्किङ राउण्ड र केही इभेन्टका सेमीफाइनल खेल सम्पन्न भएको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

पहिलो दिन रिकर्व मेन्स इन्डिभिजुअलतर्फ नेपाल पुलिस क्लबका तिलक पुन ३०० अंक मध्ये २८५ अंकका साथ पहिलो स्थान बनाएका छन् गण्डकी ‘ए’ टिमका अशिम शेरचन २७८ अंकका साथ दोस्रो स्थान तथा गण्डकी ‘बी’ टिमका मुकेश रोक्का मगर अशिम संग एक अंकले पछि पर्दै २७७ अंकका साथ तेस्रो स्थानमा आफूलाई उभ्याएका छन् ।

यस्तै प्रतियोगिताको पहिलो दिन रिकर्व मिक्स टिम इभेन्टतर्फ नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लब संग फाइनलमा भेट पक्का गरेको छ । सम्पन्न सेमीफाइनलमा पुलिसले आयोजक गण्डकी बी टिमलाई ५–१ र आर्मीले गण्डकीको ए टिमलाई ६–२ को सेटमा पराजित गरेका थिए । यता काश्य पदकका लागि भएको खेलमा गण्डकीको ए टिमले बाजी मारेको छ ।

यसै गरी रिकर्व मेन्स टिमतर्फ आयोजक गण्डकी ए टिम स्वर्ण पदकका लागि नेपाल आर्मी संग फाइनलमा स्पर्धा गर्नेछ । फाइनलमा स्थान बनाउनु अघि भएको सेमिफाइनलमा गण्डकी ए ले गण्डकी बी लाई ५–१ र आर्मीले नेपाल पुलिस क्लबलाई समान ५–१ को सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरे । तर काश्य पदकका लागि भएको खेलमा आयोजक गण्डकी बीले पुलिसलाई ६–४ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको छ ।

पहिलो दिन नै स्टाण्डर्ड मिक्स टिम सेमीफाइनलमा गण्डकी ए र नेपाल आर्मी फाइनलमा प्रवेश गरेका छन् । गण्डकी एले नेपाल पुलिसलाई ५–१ को सेटमा र आर्मीले गण्डकी बीलाई ५–३ को सेटमा पराजित गरी फाइनलमा पुगेका हुन् । तर काश्य पदकका लागि भएको खेलमा गण्डकी ए पदकबाट चुक्यो । पुलिस संग गण्डकीले ६–० को हार ब्यहोरेको छ ।

स्टाण्डर्ड मेन्स टिमतर्फ भने गण्डकी ए र नेपाल पुलिस क्लब फाइनलमा स्थान बनाएका छन् । यस अघि भएको सेमीफाइनलमा गण्डकीले आयोजकको बी टिमलाई ६–० सेटले पराजित गर्दा पुलिसले अर्को विभागिय टोली एपिएफ कलबलाई ६–० ले पराजित गरेको हो । यता काश्य पदकका लागि भएको खेलमा गण्डकीले एपिएफलाई ६–० ले नै पराजित गर्न सफल बन्यो ।

यस अघि आज नै एक कार्यक्रमका बीच राखेपका सदस्य सचिब टंकलाल घिसिङले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७ टिमका ७० जना खेलाडीहरूको सहभागिता रहको छ । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेका छन् ।

प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुने केन्द्रिय सचिब समेत रहेका शेरचनले जानकारी दिए । 

भोली २४ गते सम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close