पोखरा म्याराथनमा कोटा (संख्या) निर्धारण, माघ २८ अन्तिम दर्ता, सबै धावकलाई चिप्स

‘रन फर फन’को संख्या १० हजार हुने

पोखरा स्पोर्टस । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण संगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनएका छन् ।

कुन दौडमा कति कोटा (संख्या) ?

खुल्ला म्याराथन ४२.१९५ किमि–१६० जना
महिला हाफ म्याराथन– ५० जना
१० किमि पुरुष–४५० जना
१० किमि महिला–१५० जना
५ किमि छात्र–१२०० जना
५ किमि छात्रा–७०० जना
५ किमि भेट्रान पुरुष– ५० जना
५ किमि भेट्रान महिला–२५ जना
अपाङ्गतर्फको दौडमा भने चिप्सको प्रयोग हुनेछैन ।

१८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको ब्यवस्था गरेको छ । यस अघि म्याराथमा सिमित चिप्सको प्रयोग १८ औं संस्करणको खुल्ला म्याराथन संगै हाफ म्याराथन महिला, १० किमि महिला/पुरुष दौड र ५ किमि छात्र/छात्राको दौडमा समेत चिप्सको प्रयोग हुने भएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

“अब सबै दौडहरुको सहि समय र दुरी मापन हुन्छ” उनले भने–“कुनै पनि धावकले रुट भन्दा बाहिर भागबाट छलेर दौड पुरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत् हौसला बढ्नेछ भने आफ्नो टाइमिङकोस्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।”

गत वर्षबाट खुल्ला म्याराथनबाट सुरु गरिएको चिप्सको प्रयोग नेपाल रन युकेको सहकार्यमा भएको हो । १८ औं सस्करणका लागि भने सबै टेक्निकल डिभाइस (चिप्स)हरु करिब ३ हजार थान गैर आवाशिय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा भएको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“नेपाली खेलकुदको इतिहासमा यो नयाँ फड्को हो । जहाँ म्याराथन मात्रै नभई १० किमि र ५ किमिमा समेत चिप्सको प्रयोग हुँदैछ । यसले नेपाली खेलकुदलाई प्रविधीमैत्री बनाउनु पर्छ भन्ने बलियो सन्देश समेत दिनेछ ।”

के हो चिप्स ?
ट्रान्सपोन्डर टाइमिङ (जसलाई चिप टाइमिङ वा RFID टाइमिङ पनि भनिन्छ) खेलकुदमा प्रदर्शन मापन गर्ने एउटा प्रविधि हो। रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन RFID को आधारमा काम गर्ने ट्रान्सपोन्डर एथलीट (खेलाडी)सँग जोडिएको हुन्छ । जसलाई दौडको रुटमा विन्दुहरुमा अवस्थित रेडियो रिसीभरहरूले पत्ता लगाउँछ भने यसले खेलाडीको कोड तुरुन्तै पत्ता लगाउँछ।

नेपाली सिटी म्याराथनको इतिहासमा नै पहिलो पटक हामी कोटा निर्धारण गर्दैछौं” ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले भने–“यसले खेलाडीलाई अन्तिम समयमा आएर दर्ता गर्ने परिपाटी समेत निराकरण गर्नेछ भने सहभागि हुने हरुलाई समेत आफ्नो भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट्याउँछ ।”

सबै इभेन्टमा टेक्निकल डिभाइस (चिप्स)को प्रयोग हुने भए पछि आयोजकले माघ २८ गते सम्म अन्तिम दर्ता तोकेको छ । तर यस अघि दौडको अघिल्लो दिन सम्म धावकहरु दर्ताका लागि आउने गरेको अध्यक्ष पराजुलीले बताए । “हामी २८ गतेबाट एक दिन पनि उता दर्ता गर्नेछैनौं । यो नियम सबैलाई लागु हुन्छ । हामी माघ २९ गते दर्ता प्रक्रिया पुरै रोक्छौं । तर रन फर फनमा भने यो प्रक्रिया रोकिने छैन । रन फर फनमा भने दर्ता खुल्ला हुनेछ ।” 

उनले विगतका वर्षहरुलाई सम्झिंदै भने–“विगतमा खेलाडीको दर्ता अन्तिम समयमा हुँदा हामीले निकै ठूलो समस्या भोग्नु परेको थियो । तर यो वर्षबाट त्यो समस्या हट्नेछ । संख्या अनुसार खेलाडीहरुको सहभागिता हुनेछ भने अन्यलाई हामीले ‘रन फर फन’मा जोड्ने छौं । ‘रन फर फन’को संख्या १० हजारको हाराहारीमा हुनेछ ।”

पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध रहेको छ । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवाशिय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, वि विल राइज फाउन्डेशनलागयतको मुख्य सहयोग रहनेछ ।

पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो भने १८ औं सस्करणमा ४१ जना विभिन्न इभेन्टमा बिजेता प्रतियोगीहरुलाई १८ लाख १६ हजार नगद प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close