नेपाल भलिबल संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि कमिसनको भेला पोखरामा सम्पन्न

पोखरा स्पोर्टस । नेपाल भलिबल संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि कमिसनको ‘प्रथम ऐतिहासिक राष्ट्रिय भेला’ पोखरामा सम्पन्न भएको छ । नेपाल भलिबल संघद्वारा गठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि कमिसन तदर्थ समितिको आयोजनामा उक्त भेला सम्पन्न भएको हो ।

नेपालमा नै पहिलो पटक आयोजित एक दिने भेलाले कमिसन गठन गर्ने जनाइए पनि आन्तरिक विवादका कारण गठन भने हुन सकेन । नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुलाई सुचिकृत गर्दै अघि बढ्ने प्रयास अनुरुप नेपाल भलिबल संघले उपाध्यक्ष हरक सिंह धामीको संयोजकत्वमा एक ५ सदस्यिय समिति गठन गरेको थियो । सोही समितिले आइतबार पोखरामा ‘प्रथम ऐतिहासिक राष्ट्रिय भेला’ आयोजना गरे पनि कमिसन गठन गर्ने विषय संघलाई नै हस्तान्तरण गर्दै सम्पन्न भएको छ ।

भेलामा विभिन्न प्रदेश र जिल्लाका ८० जना रेफ्रि र ७ जना अन्तर्राष्ट्रिय रेफ्रिहरुले सहभागिता जनाएका थिए ।

यस अघि भेलाललाई सम्वोधन गर्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुलाई थप व्यवस्थित र मर्यादित बनाएर अघी बढ्ने उद्धेश्यका साथ कमिसन गठन गरेर अघि बढ्ने बताए । आगामी दिनमा सबै भलिबल रेफ्रिहरु समय अनसार अपडेट गर्दै अघि बढ्न र नेपाली राष्ट्रिय भलिबल खेलको विकासलाई अझै ग्रास रुटबाट माथी उठाउन समेत रेफ्रि कमिसनको महत्व रहेको उनको भनाई थियो ।

तदर्थ समितिले रेफ्रिहरुलाई सुचिकृत गर्न महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै अध्यक्ष चन्दले हाल नेपालमा राष्ट्रिय रेफ्रि ८० जना नविकरण भएको र प्रादेशिक तहमा ३ सय ९४ जना रेफ्रिहरुको तथ्याङ्क रहेको जनाउँदै रेफ्रिहरुलाई बदिलिंदो परिस्थिती अनुसार आफूलाई अघि बढाउन आग्रह गरे । उनले भने–“लामो समय देखि थाती रहेको विषयलाई अहिलेको कार्यसमितिले अगाडी बढाएको छ । यसलाई थप चुस्त र दुरस्त बनाउन यहाँहरुको साथ र सहयोग आवश्यक छ ।” नेपालमा सात–सात जना अन्तर्राष्ट्रिय भलिबल रेफ्रि हुनु आफैमा गौरवको विषय रहेको जनाउँदै अध्यक्ष चन्दले नेपाली गौरवमय भलिबलको इतिहासको अभिलेखीकरणका लागि समेत संघले योजना बनाउने बताए ।

यस्तै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सफल प्रतियोगिताका लागि रेफ्रिहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै परिषदले गण्डकी प्रदेशका सबै खेलमा रेफ्रि र प्रशिक्षक गरी ५ सय ९४ जनाको सुचिकृत गरी अबको केही दिनमा आकस्मिक दुर्घटना विमा समेत गर्ने तयारी गरिरहेको जनाए । उनले नेपालको राष्ट्रिय खेल भलिबललाई अझै जनस्तरसम्म पुर्याउन रेफ्रि कमिसनको आवश्यक्ता रहेको औंल्याउँदै कमिसनको गठनले आगामी दिनमा उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागि उत्तिकै प्रभावकारी भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष भिम ओलीले रेफ्रि कमिसनको गठनले नेपाली भलिबलको विकासमा प्रभावकारी भूमिका खेल्ने बताउँदै त्यस संगै नेपाली भलिबल खेलको इतिहासलाई समेत अभिलेखिकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए । भलिबललाई राष्ट्रिय खेलको रुपमा स्थापित गर्न विगतमा योगदान दिने व्यक्तित्वहरुलाई विर्सन नहुने औंल्याउँदै कमिसनले नेपाली भलिबल खेलको विकासमा अघि बढाउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे ।

संघका उपाध्यक्ष एवं रेफ्रि तदर्थ कमिसनका संयोजक हरक सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार एवं पूर्व अन्तर्राष्ट्रिय खेलाडीद्वय हरिप्रसाद पराजुली र रेशम बहादुर गुरुङले रेफ्रिहरु जहिले पनि व्यवसायिक र निस्पक्ष हुनुपर्ने कुरा औंल्याउँदै नेपालमा अब भलिबलका अन्तर्राष्ट्रियस्तरका पूर्वाद्धारहरु निर्माण गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

गण्डकी प्रदेश भलिबल संघको ब्यवस्थापनमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष एवं रेफ्रि तदर्थ समितिका संयोजक याम बहादुर गुरुङ र गण्डकी प्रदेश भलिबल संघका महासचिब एवं अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहल सिंह थापा मगरले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close