
पोखरा स्पोर्टस । पोखरामा यहि २०७७ फागुन २० देखि २७ गते सम्म हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नुहने भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बुधवार काठमाडौंमा सम्पन्न एक अन्तक्रिया कार्यक्रम कोभिड–१९ का कारण प्रतियोगिता सार्ने निश्चित गरिएको हो । अन्तक्रिया कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगमी राखेपको बोर्ड बैठकमा तय गरिने बताउनु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने बताउँदै उहाँले भन्नुुभयो–“कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अभिभारा हो ।”
१३ औं साग सम्पन्न पश्चात एक बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको बताउँदै मन्त्री विश्वकर्माले कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचलित नहुने स्पष्ट पार्दै भन्नुभयो–“नवौं प्रतियोगिताको तयारीको भब्यताको कुनै कमि हुन दिन्नौ ।” उहाँले प्रतियोगिता तयारीको लागि आगमी राखेपको बैठकले उपयुक्त मिति तय गर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय खेल संघबीच छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्दै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताउनुभयो । उहाँले भन्नुभयो–“ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको छ, कोभिडको केन्द्र खेलकुद नवनोस् त्यो कुरामा हामी सचेत छौं ।”
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संसद जिवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राख्नुभयो । नेपाल कबड्ी संघकी अध्यक्ष संसद तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सुर्य भण्डारीलगायत बिभिन्न संघका अध्यक्ष तथा महासचिवले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा राखेपका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
