
पोखरा स्पोर्टस । सहारा क्वल पोखराले २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप सफल बनाउन प्रदेश खेलकुद परिषद गण्डकी संग आग्रह गरेको छ ।
क्लवका पदाधिकारीहरुले बिहिबार परिषदको कार्यालयमा परिषदका सदस्य सचिव श्रीधर शर्मा संग भेट गरी सहयोगका लागि आग्रह गरेको हो । क्लवका अध्यक्ष केशवराज बरालसहितको टोलीले माघ ९ देखि २० सम्म सञ्चालन हुने प्रतियोगितालाई सहयोग गर्न आग्रह गरेका थिए ।
सो अवसरमा सदस्य सचिव शर्माले २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको तयारीका बारेमा जानकारी लिंदै परिषदले मोफसलकै चर्चित प्रतियोगितालाई सफल बनाउन सदैव सहयोग रहने प्रतिवद्धता जनाए । उनले प्रतियोगिताले गण्डकी प्रदेशको फुटबल विकासमा अहम योगदान दिएको बताउँदै परिषदको सहकार्यको निरन्तरता रहि रहने उल्लेख गरे ।
सो अवसरमा क्लवका पूर्व अध्यक्ष विक्रम थकाली, पूर्व अध्यक्ष सूरज गुरुङ, पूर्व अध्यक्ष केशव बहादुर थापा, बरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक पूर्ण गुरुङ, उपाध्यक्ष चित्र पुन, महासचिव रामजी प्रसाद अधिकारी लगायत क्लवका सदस्यहरु रहेका थिए ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।
गत २२औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो ।
प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको छ ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ ।
२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ ।
