
पोखरा स्पोर्टस । पोखरामा जारी पाँचौ युनिप्स अन्तर विद्यालय खेल महोत्सव २०८० अन्तर्गत मंगलबार (आज) छात्र/छात्रा भलिबल प्रतिस्पर्धाहरु सम्पन्न भएका छन् ।
संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा छात्र भलिबलतर्फको उपाधि कालिका इङलिश बोर्डिङ स्कुल र छात्रातर्फ होली एन्जल बोर्डिङ स्कुलले उपाधि जितेका छन् । छात्रतर्फ भएको फाइनलमा कालिकाले वेलननलाई सोझो ३–० को सेटमा पराजित गरि उपाधि जितेको छ भने वेलनन उपविजेता बनेको छ । कालिकाले पहिलो सेट २५–१७, दोश्रो सेट २५–१३ र तेश्रो सेट २५–१९ ले जित्न सफल भयो ।
छात्रतर्फ ८ र छात्रातर्फ ८ गरि कुल १६ टिमले सहभागिता जनाएको छात्रा भलिबलमा होली एन्जलले ३–१ को सेटमा कालिका इङलिश वोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट २५–११ ले जितेको होली एन्जलले दोश्रो सेट १७–२५ ले कालिकालाई सुम्पिए पनि अन्तिम दुई सेट २५–२० र २५–१८ ले जितेको थियो ।
यस्तै छात्रतर्फ एकता आवाशिय मावीले स्माइल स्मल हेभन एकेडेमीलाई २५–२१, २५–२७, २५–१८ र २५–१४ ले जित्दै तेश्रो स्थान प्राप्त गर्दा एकता आवाशिय माविले गण्डकी एजुकेशन फाउन्डेशनलाई २५–१६, २५–१५ र २५–०७ ले जित्दै तेश्रो हुन सफल भयो ।
पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सम्पन्न भलिबल प्रतियोगितामा कालिका इङलिश वोर्डिङका खेम सारु पुन छात्रतर्फ उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रातर्फ होली एन्जलकी जेनिशा रोक्का उत्कृष्ट खेलाडी हुन सफल भएको खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।
मंसिर १६ गते सम्म हुने खेल महोत्सव अन्तर्गत बुधबारबाट मावी स्तरिय (कक्षा ९–१०) छात्र फुटबल, छात्रा/छात्रा खोखो र आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डीका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन १४ गते हुनेछ । जस अन्तर्गत एथलेटिक्सका खेलहरु समेत सुरु हुनेछन् ।
प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने र मेडिकल सहयोग पोखरा ५ स्थित रिजनल हस्पिटलले प्रदान गरेको उनले जानकारी दिए ।
