
पोखरा स्पोर्टस । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी रहेको छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सफल पार्न विभिन्न संघ–संस्था तथा व्यक्ति विशेषले खुलेर सहयोग गर्न सुरू गरेका हुन् ।
यसैक्रममा, ८८४८ इन्टरटेनमेन्ट इभेन्ट म्यानेज्मेन्टका संचालक गिनिज गुरुङले बुधबार ५० हजार सहयोग गरे । क्लबका शुभचिन्तक उनले प्रतियोगिताको पूर्ण सफलताको कामनासहित गरेको सहयोग रकम इभेन्ट म्यानेज्मेन्टका प्रतिनिधि ओम लामा, उत्सव श्रेष्ठ र उज्ज्वल श्रेष्ठले क्लबका बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे ।
सहयोग रकम ग्रहण गर्दै वरिष्ठ उपाध्यक्ष गुरुङले आभार व्यक्त गर्दै यसप्रकारको सहयोग निरन्तरताको अपेक्षा गरे ।
सो अवसरमा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, महासचिव रामजीप्रसाद अधिकारी, सहकोषाध्यक्ष अशोक लालचन, कार्यसमिति सदस्य अमर राजभण्डारीको सहभागिता थियो ।
यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनिल गुरुङले जनाएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । प्रतियोगिताबाट संकलित रकम क्लबले एकेडेमीमा खर्चिदै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।
