पोखरा स्पोर्टस । विश्व प्रतिष्ठित फ्रान्सको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने अवसर पाउने पहिलो नेपाली कलाकारको परिचय बनाएकी अभिनेत्री सुरक्षा पन्त नेपालगञ्ज म्याराथनको ‘नेपालगञ्ज कनक्लेभमा’ सहभागि हुने भएकी छन् ।
‘शान्ति, सद्भाव र एकताः राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने उद्धेश्यका साथ यही २०८० मंसिर ९ गते आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन अभिनेत्री पन्त सहभागि हुने निश्चित भएको आयोजकले जनाएको हो ।
म्याराथनको अघिल्लो दिन मंसिर ८ गते हुने नेपालगन्ज कनक्लेभमा पनि अभिनेत्री पन्तले सक्रिय सहभागिता जनाउनेछिन् । उनले ‘के पढ्ने के लेख्ने’ शीर्षकमा प्यानलिस्टका रुपमा सहभागी हुनेछिन् । अभिनेत्री पन्तलाई बौद्धिक अभिनेत्रीका रुपमा परिचित छिन् । चलचित्र उद्योगमा प्रवेश गर्नु अघि उनी सिभिल ईन्जिनियरको जिम्मेवारीमा थिइन् । उनले सिभिल इन्जिनियरिङमा स्नातक तथा एकिकृत पानी स्रोत व्यवस्थापनमा स्नात्तकोत्तर गरेकी छिन् ।
२०१५ मा आलोक नेम्वाङको चलचित्र ‘अझैपनि’बाट डेब्यु गरेकी पन्तले धनपति, गोपी, आमा लगायत चलचित्रमा अब्बल अभिनय पस्किसकेकी छिन् । इटालियन फिल्म आठ माउन्टेनबाट उनले अन्तर्राष्टिय फिल्ममा डेब्यु गरेकी थिइन् । उक्त फिल्मले कान्समा जुरी अवार्ड प्राप्त गरेको थियो । यही फिल्मबाट पन्तको पनि चर्चा चुलिएको हो ।
उनले चलचित्र ‘आमा’का लागि राष्ट्रिय पुरस्कार जित्न सफल भइन् । उनी कविता लेखनमा रुची राख्छिन् । उनले चलचित्रमा आउनुअघि विभिन्न टेलिभिजनमा भिडियो जक्की भइ मिडियाकर्मीको परिचय पनि स्थापित गरेकी थिइन् ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला जारी रहेको आयोजकले जनाएको छ ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष/महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन हुनेछन् ।
नेपालगन्ज म्याराथनको वेभसाइट (www.nepalgunjmarathon.com) मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यसबर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा हुनेछन् ।
साथै, नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिने भएको छ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिने आयोजकले जनाएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
